जनकपुरधाम, चैत २० । मधेस प्रदेश सरकारले मधेसी शहीद लोकमार्ग निर्माणको प्रक्रिया अगाडि बढाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले प्रदेश सरकारले करिब ३११ किलोमिटरको मधेसी शहीद लोकमार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
मन्त्री यादवले कागजमा मात्र सीमित यो मार्ग निर्माणका लागि रुट रेखांकन सार्वजनिक गर्दै छिट्टै मन्त्रिपरिषद्बाट पारित गरेर टेन्डर प्रक्रियामा जाने जानकारी दिए । प्रदेशकै स्वाभिमान र स्वगौरवको यस आयोजनाको रेखांकन मन्त्रालयको दुई महिनाको अध्ययनपछि सार्वजनिक भएको उनको भनाइ छ ।
पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गको मध्यभागमा समेटेर सप्तरीदेखि पर्सासम्मको बिचको भू–भागलाई जोड्ने गरी मधेसी शहीद लोकमार्ग निर्माण गरिने मन्त्री यादवले जानकारी दिए ।
रेखांकन सर्वेका लागि टेन्टर लगाइसकिएको र सर्वे डिजाइन गरेर पेस गर्ने सम्झौतासमेत भइसकेको बताउँदै आगामी दुई महिनाभित्र सर्वे डिजाइनको डीपीआर मन्त्रालयमा पेस गरिने मन्त्री यादवको भनाइ छ ।
मन्त्रालयका सचिव कृष्णकुमार मिश्रले दुई वर्ष अगाडि मधेसी शहीद लोकमार्ग निर्माणको कार्यक्रम स्वीकृत भए पनि कार्यान्वयन हुन नसकिरहेको अवस्थामा अन्तिम चरणमा अलाइनमेन्ट सकेर सार्वजनिक गर्न सफल भएको बताए ।
उनले यस लोकमार्गको अलाइनमेन्ट सलेक्सनका लागि ईओआई इबिडिङबाट सूचना प्रवाह गरी कन्सलटेन्ट हायर गरेर तीनवटा अलाइनमेन्ट बनाउन लगाइएको र तीनवटामध्ये इकोनोमिक, छोटो र सिधा अलाइनमेन्ट कार्यान्वयनका लागि मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भई मन्त्रिपरिषद्मा लाने तयारी भएको जानकारी दिए ।
हुलाकी राजमार्ग र महेन्द्र राजमार्गको बीचबाट एउटा डबल लेनको बाटो निर्माण गर्न मधेसी शहीद लोकमार्गको परिकल्पना गरिएको र यसको भोलिदेखि नै डीपीआर बन्ने कामको सुरुवात हुने उनले बताए । यस लोकमार्गको डीपीआर निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
३११ किलोमिटरको यस लोकमार्ग निर्माणको कामलाई चार प्याकेजमा विभाजित गरिएको छ । जसअन्तर्गत सप्तरीदेखि सिरहासम्मको एउटा प्याकेज, सिरहादेखि धनुषासम्मको दोस्रो, सर्लाहीदेखि रौतहटसम्मको तेस्रो र बारादेखि पर्सासम्मको चौथो प्याकेज रहने छ ।
उनले चारवटै प्याकेजमा चारवटा कन्सल्टेन्टहरू डीपीआर निर्माणको काममा जुटिसकेको जानकारी दिए । उनले यस लोकमार्गअन्तर्गत विभिन्न रुट गरी सप्तरीमा ६४, सिरहामा ४६, धनुषामा ३० र महोत्तरीमा २३ किलोमिटर कालोपत्रे सडक बन्ने जानकारी दिए । दुई लेनको सो सडक सर्लाहीमा ५१, रौतहटमा २०, बारामा ३६.८६ र पर्सामा ४० किलोमिटर कालोपत्रे निर्माण गरिने उनले बताए । राजधानी दैनिकबाट