Logo

वैशाखदेखि चीनतर्फका सबै नाका खुला हुने



काठमाडौं, चैत २० । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुला हुने भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला हुने सहमति भएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा नारायणप्रसाद रेग्मीले मे १ देखि चीनतर्फ व्यापारिक र सिजनल सबै नाका खुला हुने जानकारी दिए । भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका खुलाउने सहमति भएको प्रवक्ता रेग्मीले जानकारी दिए । चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङ्चुङ्गोला रहेका छन् । मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने मन्त्रालयले जनाएको छ ।

चीनतर्फका व्यापारिक नाका रसुवाको केरुङ, कोदारी र यारी रहेका हुन् । केरुङ र कोदारी नाकाबाट सामान आयात निर्यात धेरै हुने गर्छ । हुम्लाको यारी नाकाबाट समेत सामानको आयात हुने गर्छ । रसुवाको केरुङ नाका शनिबार खुला भएको छ । रसुवाको केरुङ नाका गत जनवरी पहिलो सातादेखि अर्थात् पुस १२ गते एकतर्फी रूपमा मात्र खुला भएको थियो । शनिबारबाट दुवैतर्फी व्यापार र मानिस आवतजावत गर्ने गरी नाका खुला भएको हो । २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण तातोपानी नाका लामो समयदेखि बन्द रहेको थियो । सो नाकाबाट बीचमा कार्गो सामान आयात भए पनि नाका पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।

सरकारले २०७६ चैत ११ गते कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि लकडाउन गरेपछि बन्द रहेको चीनतर्फको रसुवागढी–केरुङ नाका बन्द रहेको थियो । यसअघि २०७८ असोजदेखि चीनबाट एकतर्फी मालसामान ल्याउने गरी रसुवागढी नाका खुला भएको थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्