Logo

बिचरा प्रचण्डको कार्यकाल कहिलेदेखि गणना गर्ने भन्ने नै ‘कन्फ्युज’ भयोः सूर्य थापा



काठमाडौं, २० चैत । नेकपा एमालेका नेता र सांसद सूर्य थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सय दिने कार्यकाल विश्लेषण गर्न लायकै नरहेको टिप्पणी गरेका छन् ।
‘बिचरा प्रचण्डको सय दिन कहिले कता कहिले कता गर्दैमा बित्यो । प्रचण्डको कार्यकाल कहिलेदेखि गणना गर्ने ? पुस १० देखि गर्ने कि कहिलेदेखि गर्ने ? बडा कन्फ्युज भयो । उहाँमा कुनै मर्यादा, इमान र निष्ठा छैन, सीमाहीन अराजकता छ । दुईदुई महिनामा सरकार बदल्ने अस्थिरताको खेलाडीको कार्यकाल कुनै विश्लेषण र मतलबको विषय भएन । सर्वत्र असफल, सर्वनाश र वितण्डाको कार्यकाल हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै थापाले भने ।
एमाले नेता थापाले प्रचण्डको सरकारले सिन्का पनि नभाँचेको टिप्पणी गरे । उनले भने, ‘म प्यूठानबाट निर्वाचित सांसद हुँ । संसदबाट एउटा पनि कानुन बनेन । संसदबाहिर कानुन बनाउने गुरिल्ला ट्रेल छ भने बनाउनुभयो होला । केही विधेयक दर्ता भएको छ, यसलाई पौरखको विषय मान्ने कुरा भएन । यो उहाँले थालनी गरेर यहाँसम्म ल्याएको विषय होइन । सबै पुरानै हुन् । उहाँमा कुनै निष्ठा छैन । सिंहदरबारमा फोटो राख्नेबाहेक कुनै काम भएका छैनन् ।’ मिसन ग्रासरुट अन्तर्गत अर्घाखाँचीमा रहेका थापाले एमाले देशभरि पुगेको दाबी पनि गरे ।



प्रतिक्रिया दिनुहोस्