पर्वत, २० चैत । पैयुँ गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाभित्रका कुनै एक विद्यालयमा कक्षा नौसम्म अङ्ग्रेजी माध्यममा अध्यापन गराइनेछ ।
अङ्ग्रेजी माध्यमको शिक्षाप्रति अभिभावक र विद्यार्थीको बढ्दो आकर्षणलाई ध्यानमा राखेर यो अभ्यास गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए। अङ्ग्रेजी माध्यममा अध्यापन हुने विद्यालय खोजीमा निजी विद्यालयमा आकर्षित भइरहेको अवस्थामा गाउँपालिकाले सामुदायिक विद्यालयमा यो अभ्यास सुरु गर्न लागेको हो ।
“अंग्रेजी माध्यमको सिकाइका लागि भन्दै बजारमा बस्ने र निजी विद्यालयमा सन्तानलाई पढाउने गरेको त देखिएकै छ”, प्रमुख प्रशासकीय अधिकृत लामिछानेले भने, “हाम्रो ध्येय सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय, जनअपेक्षा अनुसारको र प्रतिस्पर्धी बनाउने हो । हाम्रो उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गर्न सकोस् भन्ने हाम्रो चाहना हो ।”
गाउँपालिकाले शैक्षिक सुधार योजना अन्तर्गत यसवर्ष अङ्ग्रेजी माध्यमको एउटा नमुना विद्यालय सञ्चालन गर्ने छ । नयाँ वर्षदेखि सबै विद्यालयमा नर्सरीदेखि कक्षा १ मा अनिवार्य रुपमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने व्यवस्था मिलाइनेछ भने कुनै एक विद्यालयमा कक्षा ९ सम्म अङ्ग्रेजी माध्यमबाट रुपमा पठनपाठन सुरु गर्ने योजना अगाडि सारेको हो ।
सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय, जनअपेक्षा अनुरुपको, प्रतिस्पर्धी बनाउने उद्देश्यले गाउँपालिकाले सर्वपक्षीय छलफलसमेत गरेको गाउँपालिका अध्यक्ष तोरण मल्लले बताए । गाउँपालिकाभित्र आठ वटा माध्यमिक विद्यालय सञ्चालनमा छन् । नौ कक्षासम्म अङ्ग्रेजी माध्यममा शिक्षण गर्ने गरी ती विद्यालयबाट प्रस्तावनाको आह्वान गरिएको छ । इच्छुक विद्यालयबाट प्रस्तावना प्राप्त विद्यालयको भौगोलिक अवस्था, पूर्वाधारको अवस्थाको बारेमा गाउँपालिकाले अध्ययन गर्ने भएको छ । रासस