काठमाडौं, चैत २१ । काठमाडौं महानगरपालिका शिक्षा विभागले सबै सामुदायिक र संस्थागत विद्यालयलाई विद्यालयभित्र पाठ्यपुस्तक तथा स्टेसनरी र विद्यालय पोशाकलगायत विद्यार्थीले प्रयोग गर्ने सामग्री नबेच्न चेतावनी दिएको छ । त्यस्तै, तोकेकै पसलमा विद्यालयका सामग्री किन्न बाध्य नपार्न चेतावनी दिएको छ ।
विभागले सामुदायिक र संस्थागत विद्यालयहरूले विद्यार्थीलाई विद्यालयबाटै पाठ्यपुस्तक, पाठ्यसामग्री, पोसाकलगायतका सामान खरिद गर्न बाध्य भएको सूचना आएपछि विभागले सो चेतावनी दिएको हो ।
विभागले आइतबार सबै सामुदायिक र संस्थागत विद्यालयलाई परिपत्र जारी गरी यस्तो निर्देशन दिएको हो । यसअघि शुक्रबार पनि विभागले सोही विवरणको सूचना जारी गरेको थियो ।
विभागले तीनबुँदे निर्देशन जारी गरी महानगरभित्रका सामुदायिक विद्यालयमा अनिवार्य रूपमा पाठ्यक्रम विकास केन्द्रद्वारा तयार गरेको पाठ्यपुस्तक लागु गर्नुपर्ने निर्देशन गरेको छ ।
त्यस्तै, अंग्रेजी माध्यमका पाठ्यपुस्तक प्रयोग गर्नुपरेमा पनि सम्भव भएसम्म केन्द्रद्वारा अनुवाद गरी प्रकाशन गरिएका पाठ्यपुस्तक नै प्रयोग गर्नुपर्ने, केन्द्रले तयार पारेको नेपाली वा अंग्रेजी माध्यमको पाठ्यपुस्तकको भुक्तानी गर्न सकिने तर यसबाहेकका अन्य सन्दर्भ पुस्तकहरू प्रयोग गरेमा सोको भुक्तानी नदिने कामपाको शिक्षा विभागले जनाएको छ ।
त्यसै गरी संस्थागत विद्यालयलाई शैक्षिकसत्र २०८० का लागि पाठ्यक्रम विकास केन्द्रद्वारा सन्दर्भ सामग्रीका रूपमा सूचीकृत पाठ्य सामग्री मात्र प्रयोग गर्न सूचना जारी गरेको छ ।
परिपत्रको तेस्रो बुँदामा सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विद्यालयबाटै पाठ्यपुस्तकलगायतका सामग्री खरिद गर्न बाध्य नगराउन र विभागले विद्यालयबाट निर्धारित पोसाकको नमुना विद्यार्थीहरूलाई उपलब्ध गराउन र विद्यालयले तोकेको स्थानमा पोसाक खरिद गर्न विद्यार्थीलाई बाध्य नगराउन पनि परिपत्रमा निर्देशन दिएको छ । नेपाल समाचारपत्र दैनिकबाट