Logo

विदेशी लगानी स्वीकृत स्वचालित गरिँदै



काठमाडौं, चैत २२ । उद्योग विभागले दस करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट स्वीकृत हुने व्यवस्था मिलाउने भएको छ ।

उद्योग विभागले लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०७७ लाई संशोधन गरेर दुई करोडदेखि दस करोड रुपैयाँसम्म लगानी हुने परियोजनारप्रस्ताव स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरेको हो ।

हाल विद्यमान रहेको प्रक्रिया झन्झटिलो भएकाले यसलाई सरलीकृत गरेर सिधै स्वचालित मार्गबाट हुने व्यवस्था गरिएको विभागले जनाएको छ । विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले नियमावली संशोधन गरेर विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुने व्यवस्था गरिएको जानकारी दिए । न्यूनतम आवश्यक डकुुमेन्ट पूरा गरेका लगानीकर्ताको विदेशी लगानी स्वचालित मार्गबाट स्वीकृत हुँदा छिटोछरितो हुने उनको भनाइ छ ।

“यसअघि अनलाइनबाट विदेशी लगानी स्वीकृत भए पनि कर्मचारी आवश्यक पर्ने हुँदा झन्झटिलो थियो, अब स्वचालित हुँदा लगानीकर्तालाई लगानी गर्न सहज हुन्छ­­,” उनले भने। नियमावली संशोधन गरेर मन्त्रीपरिषद्मा पेस गरिएकाले पारित भएसँगै कार्यान्वयनमा आउने विभागले जनाएको छ । राजपत्रमा सूचना प्रकाशित स्वचालित मार्गबाट सेवा प्रदान गर्न सकिने गरी निर्धारण गरेको लगानीको सीमामा नबढ्ने गरी शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना वा विदेशी लगानीमा संस्थापना भई सञ्चालनमा रहेको कम्पनीको तत्काल पुँजी वृद्धिका लागि गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

स्वचालित मार्गबाट विदेशी लगानीसम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनका लागि विभागले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियमावलीबमोजिम विदेशी लगानीको स्वीकृतको लागि पेस गर्नुपर्ने विवरण तथा कागजपत्र विद्युतीय प्रणालीबाट पेस गर्न सकिने गरी विद्युतीय प्रणाली सञ्चालन गरिने विभागले जनाएको छ । विदेशी लगानीसम्बन्धी स्वीकृत लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लगइन गरी सो प्रणालीले माग गरेबमोजिमको विवरण तथा कागजपत्र विद्युतीय प्रणालीमा प्रवृष्टि गर्नुपर्नेछ ।

विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिका लागि आवश्यक विवरण तथा कागजात प्रविष्ट गरेपछि त्यस्तै लगानी स्वीकृतिका लागि विद्युतीय प्रणालीबाट पेस गर्नुभन्दा पहिले सम्बन्धित विद्युतीय लगानीकर्ताले प्रविष्ट गरेको विवरण तथा कागजात जाँच गर्नु तथा सच्याउनुपर्ने भएमा सच्याउन सकिने व्यवस्था नियमावलीमा गरिएको छ । विदेशी लगानी स्वीकृतका लागि विभागको विद्युतीय प्रणालीमा पेस भएपछि त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई निजले प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्बरसहितको लगानी स्वीकृत भएको जानकारी दिइने छ ।

स्वचालित मार्गबाट विदेशी लगानी गर्न सकिने उद्योग वा व्यवसायहरूमा ऊर्जामूलक, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित, सेवामूलक, उत्पादनमूलक उद्योगहरू रहेका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्