Logo

शेखर कोइरालाले भने अनुसार नभए सरकारमा जाँदैनौंः कांग्रेस सहमहामन्त्री



काठमाडौं, २२ चैत । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले डा. शेखर कोइराला–गगन थापा समूह तत्काल सरकारमा जाने वातावरण नबनेको बताएका छन् ।
‘हामी त चैत १७ गते नै सरकारमा जाने वातावरण बनोस् भन्ने चाहन्थ्यौं । अब जहिले वातावरण बन्छ, तहिले जाने हो । शीर्ष नेताहरुका बीचमा त्यस अनुसारको समझदारी बने सरकारमा जाने निर्णय होला,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै परियारले भने ।
कांग्रेस सहममहामन्त्री परियारले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई मत नहाल्नेलाई पाखा लगाउन नमिल्ने जिकिर गरे । उनले भने, ‘पार्टी सञ्चालनका विभिन्न विधि र प्रक्रिया हुन्छन् । चौधौं महाधिवेशनमा पार्टी सभापतिका निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालाको ४० प्रतिशत मत छ । आफूलाई मत हाल्नेको मात्र संरक्षण गर्ने, मत नहाल्ने कांग्रेस होइनन् भन्न मिल्दैन । पार्टी सभापति भनेको सबैको नेता हो ।’
पार्टीमा न्यायोचित निर्णय नभए अपमान सहन नसकिने चेतावनी पनि उनले दिए । परियारले गपे, ‘पार्टीभित्र हामी भागबन्डाको राजनीति गर्दैनौं तर हरेक निर्णय न्यायोचित हुनुपर्छ । पार्टीमा अपमान सहन सकिँदैन । न्याय दिन नसक्ने हो भने पार्टी सभापतिलाई एकलौटी गठन गर्नुहोस् भनेका छौं ।’
मन्त्रिपरिषद्मा पठाउने सभापतिको विशेष अधिकार नभएको पनि उनले बताए । उनले भने,’ पार्टीको विधान वा निर्णयमा सभापतिको विशेष अधिकार भनेर कहाँ लेखिएको छ ? व्यक्तिगत रुपमा सरकारमा को गयो, को गएन भन्ने ठूलो कुरा होइन । तर पार्टीका पदाधिकारीहरुबीच राय, सल्लाह र समझदारी गरेर अघि बढ्नुपर्छ । सरकारमा पठाउँदा भूगोलको मात्र प्रतिनिधित्व गरेर हुन्छ ? दलित, मधेसी, थारु, मुस्लिम समावेशी प्रतिनिधित्व चाहिँदैन ।’ नेपाली कांग्रेसको संस्थापन इतर समूहले तीन मन्त्रालय मागेको छ । तर संस्थापन पक्ष दुई मन्त्रालय र एउटा राज्यमन्त्री मात्र दिने पक्षमा छ ।
डा. शेखर समूहबाट मन्त्रिपरिषद्मा को जाने भन्ने तय नभएको पनि परियारले बताए । उनले भने, ‘शेखर कोइरालाले आफ्नो माग पहिले नै भननुभएको हो पार्टी सभापतिलाई । उहाँले जे कुरा राख्नुभएको छ, त्यही भए नाम पठाउनुहुन्छ, नभए अहिलेकै अवस्था रहन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot