Logo

रोकिएका स्ववियु चुनाव वैशाख ४ भित्र गराउन पत्राचार



काठमाडौं, चैत २३ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन नसकेका १४ वटा आंगिक क्याम्पसलाई आगामी वैशाख ४ गतेभित्र सो निर्वाचन गराउन पत्रचार गरेको छ। ती क्याम्पसमा विद्यार्थी संगठनहरूबीचको विवाद र तालाबन्दीका कारण तोकिएको मितिमा निर्वाचन हुन नसकेको हो।

त्रिविले मातहतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा १४ वर्षपछि यही चैत ५ गते स्ववियुको निर्वाचन गराउने निर्णयसहित परिपत्र गरेको थियो। तर विद्यार्थी संगठनहरूबीचको विवादका कारण ६२ वटा आंगिक क्याम्पसमध्ये ४८ वटामा मात्र निर्वाचन सम्पन्न भएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा स्ववियु केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव प्राध्यापक पशुपति अधिकारीले बताए। उनले सम्बन्धन प्राप्त ३ सयभन्दा बढी क्याम्पसमा पनि स्ववियुको निर्वाचन सम्पन्न भएको जानकारी दिए।

निर्वाचन रोकिएका त्रिविका आंगिक क्याम्पसहरूमा आगामी वैशाख ४ गतेभित्र नभए एक वर्षसम्म हुन नसक्ने निर्वाचनसम्बन्धी निर्देशिकामा उल्लेख छ। ‘स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय निर्वाचन निर्देशिका, २०७९ मा चैत्त ५ गते निर्वाचन हुन नसकेका क्याम्पसमा ३० दिनभित्र गराउनुपर्ने व्यवस्था छ,’ सदस्यसचिव अधिकारीले भने, ‘यही प्रावधानमा टेकेर निर्वाचन हुन नसकेका क्याम्पसलाई आगामी वैशाख ४ भित्र गराउन त्रिविले पत्रचार गरेको छ। वैशाख ४ गतेभित्र निर्वाचन नभए एक वर्ष हँुदैन। त्यसैले क्याम्पस प्रमुखहरूले समयमै निर्वाचन सकाउनुपर्छ। त्रिवि सधैं यही निर्वाचनमा अल्झिएर बस्न सक्दैन।’

सदस्यसचिव अधिकारीका अनुसार काठमाडौं उपत्यकाभित्रका ६ वटा आंगिक क्याम्पसमा निर्वाचन हुन सकेको छैन। उपत्यकाभित्रका त्रिचन्द्र, अमृत साइन्स (अस्कल), नेपाल कमर्स, रत्नराज्य, पाटन संयुक्त र विश्वभाषा क्याम्पस तथा उपत्यकाबाहिर सिद्धनाथ क्याम्पस महेन्द्रनगर, डोटी क्याम्पस डोटी, पृथ्वीनारायण क्याम्पस पोखरा, नर्सिङ क्याम्पस पोखरा, पोखरा इन्जिनियरिङ क्याम्पस, वीरेन्द्र क्याम्पस चितवन, चितवनकै इन्जिनियरिङ क्याम्पस र ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्जमा विद्यार्थी संगठनहरूबीचको विवाद र तालाबन्दीका कारण निर्वाचन हुन नसकेको त्रिविले जनाएको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot