Logo

तीन कम्युनिस्ट पार्टी मिलाऊँ भन्दा ओलीजी मान्नुभएनः माधव नेपाल



काठमाडौं, २३ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) माधवकुमार नेपालले १० दलीय गठबन्धनमा विभाजन नआएको बताएका छन् ।
‘बारा २ को उपचुनावको सन्दर्भमा केही विवाद जस्तो देखिए पनि सरकारका बारेमा अहिलेसम्म सबैको एकमत छ । कुनै दलले मन्त्रालयको संख्यामा असन्तुष्टि राखेको हुन सक्छ । तर अहिलेसम्म १० दलीय गठबन्धन कायमै छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै नेपालले भने ।
नेता नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच छलफल र कुराकानी आवश्यक रहेको पनि औंल्याए । उनले भने, ‘मंसिर ४ मा यादव र राउत एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्नुभयो । एउटाले जित्नुभयो, अर्कोले हार्नुभयो । त्यसको तुष बाँकी होला । उहाँहरुबीच मधेसमा मेरो वर्चस्व हुनुपर्छ भन्ने छ कि ? उम्मेदवारले वातावरण नबनाएको पो हो कि ?’ बारा २ मा उपेन्द्र यादवको पहिलेदेखिकै चाहना भएका कारण आफ्नो पार्टीले जसपालाई समर्थन गरेको पनि उनले बताए ।
फरक प्रसंगमा पूर्वप्रधानमन्त्री नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कहिल्यै राष्ट्रपतिको प्रस्ताव नराखेको बताए । उनले भने, ‘विभिन्न व्यक्तिहरुका माध्यमबाट प्रस्ताव नआएको होइन । तर केपी ओलीजीले प्रस्ताव राख्नुभएको होइन । बाहिरका चर्चाको कुनै अर्थ छैन । उहाँले मेरो कानले सुन्ने र बुझ्ने गरी कुनै प्रस्ताव गर्नुभएको छैन । प्रस्ताव राखेर मात्र पुग्दैन, जित्ने परिस्थिति पनि हुनुपर्छ नि ।’
एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीसँग एकता प्रस्ताव राखेको पनि उनले बताए । नेपालले थपे, ‘उहाँले मलाई राष्ट्रपतिको प्रस्ताव राख्नुभएको होइन, बरु दुइटा पार्टी मिलाउनुपर्छ भन्ने प्रस्ताव गर्नुभएको हो । मैले दुइटा पार्टी मात्र किन, तीनवटै पार्टी एकै ठाउँ आऊँ र पुरानो नेकपा ब्युँताऊँ । त्यसका निम्ति त्याग गर्न तयार हौं भनेको हुँ । त्यसका लागि मैले दुइटा नेता पठाएको हुँ । गोविन्द बन्दी र किसान श्रेष्ठ साक्षी हुनुहुन्छ । तर उहाँले नकारात्मक जवाफ दिनुभयो ।’ त्यतिबेला आफूले दुई पार्टी एकताबारे पार्टीमा सल्लाह गर्छु भनेको पनि उनले स्मरण गरे ।
नेकपा विभाजनको मूल दोषी ओली नै भएको आरोप पनि उनले लगाए । नेपालले भने, ‘नेकपा विभाजनको मूल दोषी उहाँ नै हो । उहाँमा अहंकार बढेको छ । बारम्बार अरुको अपमान गर्नुहुन्छ । उहाँको घमण्डबाट मुलुकले ठूलो नोक्सानी बेहारेको छ । उहाँले अरुको सम्मान गर्न र विनम्र हुन सिक्नु जरुरी छ ।’
ओलीले जस्तो व्यवहार गरे पनि आफू आरोप प्रत्यारोपमा नलाग्ने पनि नेता नेपालको दृढता छ । उनले भने, ‘नेपाली कांग्रेससँग गठबन्धन टुटेपछि हामीलाई पनि सरकारमा जाने प्रस्ताव राखेको भए नयाँ वातावरण बनाउँथ्यौं होला । पुस १० गते तीनवटै नेता (प्रचण्ड, ओली र नेपाल) बीच भेट हुन सकेको भए मुलुक नयाँ राजनीतिक कोर्समा जान्थ्यो । शेरबहादुर (देउवा) जी तुलनात्मक रुपमा गल्ती महसुस गर्ने नेता हुनुहुँदो रहेछ । ओलीजी रियालाइज गर्नुहुँदो रहेनछ । तर म संवाद बन्द गर्दिनँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ओलीसँग सकिँदैन भनेर नै पुरानै गठबन्धनमा फर्केको पनि उनले औंल्याए । नेपालले भने, ‘प्रचण्ड केटाकेटी मान्छे हो र ? उहाँले अब ओलीसँग मेरो रिलेसन र व्यवहार चल्नेवाला छैन । उहाँको व्यवहार अपमानजनक छन् भन्नुभयो र कांग्रेससँगको सम्बन्ध पुनःस्थापना गर्न मैले भूमिका खेलेको हुँ ।’
अहिलेको गठबन्धन सिद्धान्तनिष्ठ भएको दाबी पनि उनले गरे । उनले भने, ‘यो संविधानको रक्षाका लागि बनेको गठबन्धन हो । कसैले राजाको पुच्छर भन्देलान्, कसैले कांग्रेसको भन्देलान्, कसैले संघीयताविरोधीको पुच्छर भन्देलान् । तर म आरोप-प्रत्यारोपमा जान जान चाहन्नँ ।’



प्रतिक्रिया दिनुहोस्