काठमाडौं, २३ चैत्र । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपालीले गफैमात्र गरेर देश विकास नभएको टिप्पणी गरेका छन् । उनले अबको मोडेल भनेको काम गरेर जानुपर्ने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले अब श्रमले सम्पदालाई सम्पत्तिमा परिणत गर्ने बताए । उनले आफूले देशका कार्यकारी प्रमुखहरुलाई पनि श्रमदानको लागि बोलाउने बताए । पछिल्लो समय जनप्रतिनिधिहरुले काम गर्न नसकेकोले आलोचना भएको उनको टिप्पणी छ ।
उनले आफ्नो उपमहानगरमा भ्रष्टाचार नहोस भनेर कामना गरेको सुनाए । तर, यदि कसैले भ्रष्टाचार गरेको प्रमाणित भए त्यसलाई सामाजिक रुपमा बद्नाम गराउने उनको चेतावनी थियो । धरानमा खानेपानी नै मुख्य समस्याको रुपमा रहेको उनको भनाई छ ।
उनले शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनुपर्ने अर्को चूनौति रहेको सुनाए । उनले युवा पुस्तालाई सीप दिएर उद्यमतिर लैजाने प्रतिबद्धता जनाए । उनले काठमाडौंका मेयर बालेन्द्र शाहले गरेको कामको प्रशंसा गरे । उनले आफूले मेयर शाहको कामलाई सधैं प्रशंसा गरे । उनले आगामी राजनीतिक बाटोको कुरा गर्दा मेयरमा दोहोरिने वा राजनीतिमा आउने कुरा पब्लिकले चाहँदा हुने कुरा भएको टिप्पणी गरे ।