काठमाडौँ, २४ चैत । वैदेशिक रोजगारीमा क्रममा मृत्यु भएकाहरुका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको आरोपमा प्रहरीले छजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले आज दिउँसो पत्रकार सम्मेलन गरी काठमाडौँको गोङ्गबु बस्ने रामबहादुर तामाङसहित छ जनालाई सार्वजनिक गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीका अनुसार पक्राउ परेकाहरुमा सर्लाही लालबन्दी–८ का विनोदकुमार लामा, डिकबहादुर मल्ल, रविन भन्ने रवीन्द्र मोक्तान, प्रकाशबहादुर गोले र रुद्रमान गोले छन् । उनीहरुका साथबाट विदेशमा ज्यान गुमाएका व्यक्तिहरुको नागरिकता, राहदानी, जन्ममिति, विवाहदर्ता र मृत्युदर्ता, वडा कार्यालयको सिफारिस लगायतका कागजात बरामद भएको प्रहरीले पत्रकार सम्मेलनमार्फत जनाएको छ । पक्राउ परेकाहरुले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
वैदेशिक रोजगारीका लागि विदेशमा काम गर्दागर्दै केही कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरुले बीमाबापत पाउने बीमा रकम मृतकका आफन्तहरुलाई दिलाई दिने भन्दै उनीहरुले ठगी गर्ने गरेको र त्यसबापत उनीहरुले प्रतिमृतक रु सात लाखसम्म ठगी गरेको खुलेको एसएसपी केसीले दाबी गरे । यसबारे अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि विशेष अनुसन्धान टोलीले उनीहरुको खोजतलास थालेको थियो ।
वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले रु १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा रु १३ लाख बीमाबापतको क्षतिपूर्ति पाउने व्यवस्था छ । यस्तै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त रु सात लाख पनि पाउने व्यवस्था छ । उनीहरुले परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरुलाई ठगीसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । रासस