Logo

सधैं हारेर बसिरहने भन्ने हुँदैनः सर्वेन्द्र खनाल



काठमाडौं, २५ चैत । तनहुँ १ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले आफ्नो जित निश्चित रहेको बताएका छन् ।
‘तनहुँ म जन्मेको, खेलेको र हुर्केको ठाउँ हो । प्राथमिक शिक्षा यहीं पाएको हुँ । यो भावनात्मक रुपमा जोडिएको ठाउँ हो । यो मेरो रोजाइको ठाउँ हो । त्यसैले मैले जित्छु । मसँग योजना मात्र छैनन्, दृढ संकल्प पनि छ । म कागजमा लेखेका कुरा कार्यान्वयन गर्न लाग्छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खनालले भने ।
काठमाडौंमा हारेर किन तनहुँमा किन जानुभयो भन्ने प्रश्नमा उनले भने, ‘प्रजातान्त्रिक परिपाटीमा हारजित स्वाभाविक हो । सधैं हारेर बसिरहने भन्ने हुँदैन । राजनीतिलाई मैले समाजसेवा गर्ने प्लेटफर्मका रुपमा लिएको छु । म स्वतन्त्र भएर लडेको होइन । विगतमा म व्यक्तिगत रोजाइभन्दा पनि एमालेको प्रतिनिधिका रुपमा लडेको हुँ । अहिले परिस्थिति भिन्न छ ।’
आफू प्रहरी प्रमुख हुँदा सुरक्षा र विकासलाई सँगसँगै अघि बढाएको दाबी पनि उनले गरे । खनालले भने, ‘कांग्रेस तीन दशक सत्तामा बसेर के के उपलब्धि भयो त ? यहाँको अवस्था जर्जर छ । त्यसलाई मैले टुलुटुलु हेरिरहन सकिनँ । प्रहरीमा रहँदा पनि म सुरक्षासँगै विकासलाई अघि बढाउन जोड दिन्थें । म विकास प्रेमी हुँ । म तनहुँ बनाएर देखाउँछु ।’ देवघाट, बन्दीपुर, मिर्लुङ जस्ता ठाउँको पर्यटकीय विकास गर्ने योजना पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्