Logo

को आउला निजामतीको सर्वोच्च पद मुख्य सचिवमा ?



काठमाडौं, चैत २७ । मुख्य सचिव शंकरदास वैरागीको पदावधि सकिन केही महिनामात्रै बाँकी रहदा नयाँ मुख्य सचिवका बारेमा चर्चा शुरू भएको छ । वैरागीको समयावधि छोटिँदै जाँदा निजामती प्रशासनको सर्वोच्च पद मुख्य सचिव बन्न वरिष्ठ सचिवहरूले समेत आन्तरिक लबिङ थालेका छन् ।

मुख्य सचिव वैरागीलाई महत्वपूर्ण देशको राजदूत वा संयुक्त राष्ट्रसंघ (यूएन)को स्थायी प्रतिनिधिमा पठाएर नयाँ मुख्य सचिव नियुक्त गर्न सकिन्छ कि भन्ने विषयमा उच्च सरकारी तहमा छलफल शुरू भएको स्रोतको दाबी छ । मुख्य सचिव पनि पदावधि सकिनै लाग्दा नयाँ अवसरको खोजीमा रहेको बताइएको छ ।

भारत, चीन, अमेरिका, बेलायतलगायतका मुलुकमा राजनीतिक नियुक्ति भइसकेकाले मुख्य सचिव वैरागीलाई क्यानडाको राजदूत बनाउन सकिने विषयमा समेत छलफल हुन थालेको स्रोतको दाबी छ । स्रोतका अनुसार उहाँलाई यूएनको स्थायी प्रतिनिधिको रूपमा समेत पठाउन सकिने छ ।

मुख्य सचिव वैरागीको पदावधि यही २०८० साल असोज १५ मा सकिने छ । पदावधि सकिन साढे पाँच महिना रहेकाले उहाँ यो अवधिमा ठूला र महत्वपूर्ण मानिएका देशहरूमा राजदूत भएर जान सक्ने सम्भावना रहेको स्रोतले जानकारी दियो । वैरागी आफंै पनि राजदूत वा यूएनको स्थायी प्रतिनिधि बन्ने गरी आन्तरिक लबिङमा लागेको बताइएको छ ।

वैरागी २०७७ साल असोज १५ मा मुख्य सचिव भएका थिए। मुख्य सचिवको पदावधि ३ वर्षको हुन्छ ।

पूरै अवधि मुख्य सचिवमा बस्दा राजदूत वा यूएनको स्थायी प्रतिनिधिमा नियुक्ति लिन कठिन हुने भएकाले वैरागी सेवानिवृत्त हुनुभन्दा केही महिनाअघि नै नियुक्ति भएर जाने चर्चा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा चल्न थालेको छ । अतः मुख्य सचिव वैरागीको अन्यत्र नियुक्ति हुने समयले भावी मुख्य सचिव को हुने भन्ने कुराको निर्धारण गर्छ ।

मुख्य सचिव वैरागी आगामी २०८० साल वैशाख वा जेठ सम्ममा राजदूत भएर जाने अवस्था आएमा जेष्ठताका आधारमा तीन जना सचिवहरू मुख्य सचिवको प्रमुख दाबेदार हुनेछन् । सो समयमा मुख्य सचिवको दाबेदार हुनेमा राष्ट्रपति कार्यालयका सचिव यादव प्रसाद कोइराला, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्याल र राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रामप्रसाद थपलिया रहेका छन् । तर, मुख्य सचिव वैरागी साउन तथा भदौमा मात्रै अन्यत्र नियुक्ति लिएर जाने अवस्था आएमा भने यी तीनजना सचिवको मुख्य सचिव हुन सक्ने सम्भावना न्यून रहने आजको नेपाल समाचारप दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्