Logo

अब अर्थमन्त्रीले बोल्ने बेला भयोः डा. लोहनी



काठमाडौं, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशलाई असन्तुलन र अराजकताको स्थितिमा लैजान खोजेको आरोप लगाएका छन् ।
‘उपप्रधान एवं रक्षामन्त्रीले पूर्णबहादुर खड्काले माटो ढोग्दै भावुक भएर कर्मचारीलाई तलब खुवाउन पनि आम्दानी छैन भन्नुभयो । अर्थसचिवले सामाजिक सुरक्षा भत्ता दिन सक्दैन भनेर बहादुरीका साथ भन्नुभयो । लघुवित्त र सहकारी समस्याग्रस्त छन् । अर्थतन्त्रको संकटबारे अर्थमन्त्रीले केही बोल्नुभएको छैन । अब उहाँले बोल्ने बेला आयो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. लोहनीले भने ।
अर्थतन्त्रको संकटबारे प्रधानमन्त्री प्रचण्ड गम्भीर नभएको उनले बताए । डा. लोहनीले थपे, ‘अब विकासका लागि कहाँबाट बजेट ल्याउने ? तलब खुवाउने पैसा कहाँबाट ल्याउने ? वृद्धभत्ता नखुवाउने हो त ? प्रधानमन्त्री खादा लगाइरहेका छन्, भाषण गरिराख्या छन्, काम गरेका छैनन् । काम नगर्ने, गफमात्र गरेर संकट समाधान हुन्छ ?’
सांसद डा. ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बनाउँछु २ करोड मागेको अडियोबारे राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ७२ घन्टाभित्र सत्य तथ्य पत्ता लगाउन सक्नुपर्ने पनि डा. लोहनीले औंल्याए । उनले भने, ‘उहाँलाई समय दिनुपर्छ । देशलाई नयाँ नेतृत्व पनि चाहिएको छ । तर त्यो पार्टी पनि सत्ताकै लागि हो कि भन्ने शंका बढ्न थालेको छ । रास्वपाको सिद्धान्त, अडान र धारणा के हो भन्ने स्पष्ट छैन । उनले सत्तामा नगएकाले सीके राउत उदीयमान नेता भएर आउने देखिएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्