Logo

कोभिडपछि नेपाली महिला उद्यमी समस्यामा छन्ः रिजाल



काठमाडौं, २७ चैत । दक्षिण एसियाली महिला मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले नेपाली महिला उद्यमीका लागि सरकारले नयाँ सोच र अवधारणा ल्याउनुपर्ने औंल्याएकी छन् ।
‘नेपाली महिला लघु, साना तथा मझौला उद्यममा सीमित छन् । व्यवसायमा उनीहरुको ठूलो योगदान भए पनि सीमित दायरामा बसेर उद्यम सञ्चालन गर्नुपर्ने सामाजिक र आर्थिक चुनौतीहरु छन् । कोभिड-१९ पछि अझ समस्यामा छन् । अब महिला उद्यमशीलतामा नयाँ अवधारणा बनाउनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भनिन् । रिजाल हालै ‘इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएकी थिइन् ।
महिला उद्यमी रिजालले महिला उद्यमीका लागि सरकारको सहयोग सीमित रहेको पनि औंल्याइन् । उनले भनिन्, ‘नेपाल सरकारले औद्योगिक ग्राम, विशेष औद्योगिक क्षेत्र भनेको छ । तर महिला उद्यमीका लागि केही गरेको छैन । त्यसैले अब महिला उद्यमीका लागि नयाँ सोच र अवधारणा आवश्यक छ ।’ महिला उद्यमी हरित ग्राम बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर कुराकानी गरेको पनि उनले बताइन् ।
रिजालका अनुसार दक्षिण एसियाली महिला मञ्चले नेपालमा पहिलो पल्ट महिलाकेन्द्रित परियोजना भित्र्याउँदै छ । त्यसअनुसार नेपाली कच्चा पदार्थबाट नयाँ उत्पादन गर्नका लागि काभ्रेपलाञ्चोकमा ५० जना महिला उद्यमीले महिला औद्योगिक खरिद ग्रामको सञ्चालन गर्नेछन् । त्यसबाट स्थानीय किसान र समुदायले फाइदा लिन सक्ने उनले बताइन् । रिजालले भनिन्, ‘हामीले यो भारतीय महिला उद्यमीको सहकार्यबाट रेप्लिकेसन गरेका हौं ।’ भारतमा पाँचवटा यस्ता परियोजना सञ्चालन गरेर उनीहरुले महिला उद्यमशीलताको परिचय दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot