Logo

बालेनलाई गृहमन्त्रीको जवाफः ‘बल प्रयोग गर्न सहयोग मागेर मात्र समन्वय हुँदैन’



काठमाडौं, चैत २७ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेश र स्थानीय सरकारले संघीय सरकारसँग सहयोग माग्न आउँदा प्रक्रियागत रूपमा आउनुपर्ने बताएका हुन् ।

सोमबार प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले कुनै पनि कामका लागि समन्वय हुन औचित्य पुष्टि हुने गरी तथ्यसंगत हुनु पर्ने बताउँदै समन्वय गर्न प्रक्रियागत रूपमा आउनुपर्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय सरकारले स्थानीन सरकारलाई सहयोग र समन्वय नगरेको आरोप लगाएपछि उपप्रधान मन्त्री श्रेष्ठले स्थानीय वा प्रदेश सरकारले म यसो गर्छु भन्ने अनि बल प्रयोग गर्न अनुरोध मात्र गर्ने नहुने बताए । उनले भने, ‘बालेनलाई तपाईंले गर्न खोजेको कामको औचित्य पुष्टि हुने गरी अलिकति निष्कर्षमा पुग्न पर्‍यो । तपाईं आफैँले मात्र गर्न सक्ने काम छ भने हस्तक्षेप गर्दैनौं । तर संघीय सरकार वा प्रदेश सरकारको सहयोग चाहिए त प्रक्रियागत रूपमा आउन भनेका छौ ।’

मेयर शाहले आफूले संघीय सरकारलाई ९ महिना कुर्दा पनि सहयोग नपाएको भन्दै १४ उदाहारण सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले नेपालको राजनीतिलाई सकारात्मक दिशातर्फ लैजान आवश्यक भएकोसमेत बताए ।

उनले राजनीतिलाई सकारात्मक दिशातर्फ लैजानका निम्ति सबैभन्दा पहिला आफूले आफैँलाई हेर्नुपर्ने बताए। अरुको निम्ति ठूलो कुरा गर्ने आफूलाई नहेर्ने प्रवृत्ति गलत भएको बताउँदै उनले भने, “अरुका निम्ति ठूलाठूला कुरा गरिदिने, आफूलाई नहेर्ने, प्रष्ट देखेको कुरा पनि नभन्ने प्रवृत्ति छ ।”  नेपालको राजनीतिमा देखापरेका समस्या सच्चिनुपर्ने उनले जोड दिए ।



प्रतिक्रिया दिनुहोस्