Logo

वर्ष २०७९ : सत्यमोहनदेखि प्रेम आचार्यको आत्मदाहसम्म



  • कमल बुढाथोकी

काठमाडौं, २७ चैत । नयाँ वर्ष २०८० प्रारम्भ हुँदैगर्दा वर्ष २०७९ नेपालले केही महत्वपूर्ण हस्तिहरु गुमाउन पुग्यो। वर्ष ०७९ नेपालले केही यस्ता व्यक्ति गुमाएको छ, जसको योगदान इतिहासमा सधैँ कदर रहनेछ। यसरी नेपालले गुमाउने केही व्यक्तिहरुको संक्षिप्त योगदान र परिचय यस्तो छ।

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशी

नेपाली कला, संस्कृति र साहित्य क्षेत्रका धरोहर वरिष्ठ संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा १ सय ३ वर्षको उमेरमा असोज ३० गते निधन भयो।

विसं १९७७ वैशाख ३० गते जन्मिएका जोशी पाटन दरबार क्षेत्र नजिक बखुम्बहालमा बस्दै आएका थिए। २०१२ सालमा स्थापित मदन पुरस्कार २०१३ सालमा पहिलोपटक र तीनपटकसम्म मदन पुरस्कार पाउने उनी एक मात्र व्यक्तित्व हुन्। उनका कृतिहरू ‘हाम्रो लोक संस्कृति’ले २०१३ सालमा, ‘नेपाली राष्ट्रिय मुद्रा’ ले २०१७ सालमा र ‘कर्णाली लोक संस्कृति’ले २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए।

जोशीको जन्म शताब्दीको अवसरमा नेपाल सरकारले एक हजार रुपैयाँको चाँदीको सिक्का र १० रुपैयाँको हुलाक टिकटसमेत प्रकाशन गरेको थियो।

जोशी १०० वर्ष पुग्दा ललितपुर महानगरपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो। २०७१ सालमा त्रिमूर्ति निकेतनले ‘ताम्रपत्र’ र पाँच लाख नगदसहित शताब्दी पुरुषको उपाधि पनि प्रदान गरेको थियो।

२०७० सालमा पद्मश्री साधनाबाट सम्मानित भएका जोशी नेपाल सरकारले सोही वर्ष संविधान दिवसको अवसरमा ‘राष्ट्र गौरव’ मानपदवी प्रदान गर्ने निर्णयसमेत गरेको थियो।

हिमालय शमसेर जबरा
नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमसेर जबराको ९५ वर्षको उमेरमा माघ २२ गते नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

१४ वर्षमा मेट्रिक पास गरेका जबरा नेपाल सरकारको सचिव हुँदै राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए। राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ती दिँदा उनको उमेर मात्र २९ वर्षको थियो।

प्रदीप गिरि
नेपाली कांग्रेसका नेता प्रदिप गिरिको भाद्र ४ गते निधन भएको थियो। क्यान्सर रोगबाट पीडित नेता गिरिको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा ७४ वर्षको उमेरमा निधन भएको हो।

लामो समय भारतको मुम्बइका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई साउन ९ गते ललितपुरस्थित् मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।

गिरिको जन्म विसं २००४ सालमा सिरहाको बस्तीपुरमा भएको थियो। समाजवादी चिन्तक नेता गिरि नेपालको समकालिन राजनीतिका एक प्रखर विचारक थिए।

विसं २०५१ को संसदीय निर्वाचनमा सिरहा-५ बाट निर्वाचित भएका गिरी संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भइ संविधान निर्माणको जिम्मेवारीमा संलग्न रहेका थिए। त्यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए।

यस्तै, नेता गिरी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा सिरहा-१ बाट निर्वाचितसमेत भएका थिए।

सुरेन्द्रबहादुर बस्नेत
बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष, सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलका प्रथम अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको पुस १० गते ९५ वर्षको उमेरमा निधन भएको थियो।

बस्नेत २०२४ सालमा कानून तथा न्याय, शिक्षा मन्त्री र २०२५ सालमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका थिए।

भोजपुरको दिंगलास्थित साल्मामा विसं १९८४ सालमा जन्मिएका बस्नेत बनारस हिन्दू विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए।

कृष्णा ताम्राकार
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा चैत १० गते निधन भएको थियो। रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

विसं २०१८ मा रेडियो नेपाल प्रवेश गरेकी ताम्राकारले २०४९ सालसम्म रेडियो नेपालमा समाचार वाचनका साथै ‘नाँसो’, ‘हाम्रो देशको माटो’, ‘हाम्रो वन, हाम्रो जीवन’लगायत कार्यक्रम सञ्चालन गरेकी थिइन्। पछिल्लो समय ताम्राकार पर्यटन क्षेत्रमा पनि सक्रिय थिइन्।

ताम्राकार चराचुरुङ्गी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरेर समाजसेवामा पनि समर्पित रहेकी थिइन्।

महावीर विश्रकर्मा
सञ्चारकर्मसँगै राजनीति र दलित अधिकारको क्षेत्रमा सक्रिय युवा महावीर विश्वकर्माको दुर्घटनामा परेर मंसिर ६ गते निधन भएको थियो।

विश्वकर्मा चर्चित रेडियो कार्यक्रम ‘बहकिने मन’का प्रस्तोतासमेत थिए। उनी टेलिभिजन कार्यक्रम निर्माणमा पनि संलग्न रहेका थिए।

चितवन राप्ती नगरपालिका–४ डडुवा घर भएका महावीर वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य र जात व्यवस्था उन्मूलन मोर्चा नेपालका सचिव रहेका थिए।

वरिष्ठ पाईलट कमल केसी
यती एयरलाइन्सका वरिष्ठ पाइलट कमल केसीको २०७९ माघ १ गते भएको यती एयरलाइन्सको ‘एटिआर–७२’ पोखराको सेती खोचँ नजिकै दुर्घटना हुँदा उनीसहित हेलिकप्टरमा सवार सबै ७२ यात्रुको ज्यान गएको थियो।

कास्कीको रुपा गाउँपालिका–१ फल्याङकोटमा जन्मिएका केसी २०४७ सालमा पाइलट बनेका थिए। रुपा गाउँपालिकाकै पहिलो पाइलट बनेका केसीलाई यहीँ वर्षमात्रै गाँउपालिकाले ‘रुपा रत्न’ पुरस्कारबाट पनि सम्मान गरेको थियो।

ओम गुरुङ
मानवशास्त्री तथा वरिष्ठ समाजशास्त्री प्राडा ओम गुरुङको २०७९ असोज ३१ गते निधन भएको थियो। गुरुङको ललितपुरको हरिसिद्धी क्यान्सर अस्पतालमा ७० वर्षको उमेरमा निधन भएको हो।

त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका पूर्वप्रमुख तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिवसमेत रहेका गुरुङले ‘सोसल इन्क्लुजन एटलस अफ नेपाल’ किताब लेखेका थिए।

गुरुङ नेपालमा सामाजिक समावेशीकरणका विषयमा बोल्ने प्रमुख वक्ता थिए।

प्रेमप्रसाद आचार्य
संसद्‍ भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले शरिरमा पेर्टोल छर्किएर आगो लगाई आत्मदाह गरेका थिए। तुरुन्तै उद्धारगरी कीर्तिपुरस्थित बर्न अस्पताल पुगाइएपनि उपचारको क्रममा माघ ११ गते निधन भएको थियो।

आचार्यले मृत्युअघि फेसबुक स्टाट्‍समा १२ जना व्यक्ति र संस्थाले इलाममा उत्पादन गरेको सामान अर्डर गरेर पैसा नदिने सुपरमार्केट, मार्ट र ‘शैक्षिक टुर प्याकेज’को जिम्मा दिएर भुक्तानी नदिएको र जतिसुकै कोशिस गर्दापनि बाच्नसक्ने अवस्था नभएको कारण आत्मदाह गर्ने स्थितिमा पुगेको उल्लेख गरेका थिए।

आचार्यको आत्मदाह र उनले फेसबुकमा उल्लेख गरेका स्टाटसले वर्ष ७९मा निक्कै ठूलो हलचल ल्याएको थियो।

देशकै इतिहासमा यो जस्तो घटना सम्भवत विसं १९९८ सालको असार २२ को हरिशयनी एकादशीको दिन पूर्वी नेपालको भोजपुरमा भएको थियो।

भोजपुरकी योगमाया न्यौपाने(कोईराला)ले राणाशासनको विरोध गर्दै अरुण नदीमा जलसमाधि लिएकी थिइन्। जलसमाधि लिँदै उनले ‘राणाजस्ता अत्याचारीहरूको राज्यमा बाँच्नुको कुनै अर्थ छैन’, ‘धर्म राज्यको उदय होस्, अर्धमको पराजय होस’, भनेकी थिईन्। उक्त जलसमाधिमा उनीसहित ६८ जना व्यक्तिले अरुण नदीमा ज्यानको आहुती दिएका थिए।

त्यस्तै, वर्ष ७९ मा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, लोकगायिका नीरा छन्त्याललगायतले ज्यान गुमाउनु पर्यो।

यस्तै, नेपाली वर्ष २०७९ मा नेपालबाहेक विश्वले पनि ठूलठूला हस्तिहरु गुमाउनु परेको छ।

बेलायतमा ७० वर्ष लामो शासन गरेकी महारानी एलिजावेथ द्धित्तिय, जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवे, फुटबलका महान खेलाडी पेले, सोभियत संघका अन्तिम राष्ट्रपति मिखाईल गोर्भोचोव, पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफ, भ्याटिकन सिटीका पूर्व पोप बेनेडिक्टलगायतका बिश्वविख्याँत व्यक्तिहरु यो वर्ष संसारले गुमाएको छ।



प्रतिक्रिया दिनुहोस्