Logo

‘नीति’विहीन कांग्रेस



काठमाडौं, चैत २८ । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चुनेर मंसिर २०७८ मा १४औं महाधिवेशन सम्पन्न गरेको दल नेपाली कांग्रेसले महाधिवेशनको १६ महिना बित्दा पनि पार्टीको नीति तय गर्न सकेको छैन ।

१४औं महाधिवेशनबाट नेतृत्व चयन गरेर पार्टीको नीतिका लागि ६ महिनाभित्र छुट्टै अधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको १६ महिना बित्दासम्म कांग्रेस नीतिविहीन अवस्थामा छ । नीति निर्धारण नहुँदा कांग्रेसको मार्गदिशा नै अनिश्चित बनेको छ ।

कांग्रेसले १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवालाई चयन गरेको थियो भने पार्टीमा उपसभापति दुईसहित महामन्त्री दुई र विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी आठ जना सहमहामन्त्री निर्वाचनमार्फत चुनेको थियो ।

यस्तै, कांग्रेसले १४औं महाधिवेशनलाई नेता र नेतृत्व छान्ने महाधिवेशनका रूपमा लिएर नीति तय गर्न विधानमा भएको सुविधालाई प्रयोग गर्दै ६ महिनाभित्र छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

कांग्रेस विधानको दफा १७ (५) मा केन्द्रीय महाधिवेशनको कार्यविधि उल्लेख छ । जसमा ‘महाधिवेशनबाट पार्टीको केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था गर्ने र नीति निर्माण तथा विधान पारित गर्न फरक फरक समयमा महधिवेशन गर्न सकिने छ,’ भनिएको छ ।

विधानमा भएको सो व्यवस्थालाई टेकेर कांग्रेसले २८ कात्तिक २०७८ सालमा बसेको केन्द्रीय समिति बैठकमार्फत १४औं महाधिवेशन नेतृत्व चयन गर्नेतर्फ केन्द्रित गर्ने र ६ महिनाभित्र नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार महाधिवेशनमार्फत पार्टी सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य चयन गरिएको थियो ।

नीति महाधिवेशनका लागि कांग्रेसका दुई महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले सभापति देउवालाई दबाब दिंदै आए पनि पार्टीको नेतृत्व सम्हालेका देउवाले नीति अधिवेशनबारे कुनै ठोस् कदम चाल्न सकेका छैनन् ।

महामन्त्रीद्वय थापा र शर्माले नीति महाधिवेशन, विभाग गठनलगायतका सांगठनिक संरचनालाई पूर्णता दिने विषयसहित पार्टीका आन्तरिक जीवनलाई गति दिन भन्दै सभापति देउवालाई १ वर्ष अघि नै दबाब दिएका थिए ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले कांग्रेसको नेतृत्वमा नै नीति महाधिवेशनका विषयमा चासो नदेखिएको बताए । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot