Logo

राघवको सगरमाथा आरोहणको वैधतामाथि प्रश्न



काठमाडौं, चैत २८ । भारतीय नागरिक राघव जोनेजाले गरेको सगरमाथा आरोहणको विषयमा प्रश्न उठेको छ । नेपालको कानुनअनुसार १६ वर्ष नै नपुगी हिमाल आरोहण गरेको र सगरमाथाको चुचुरोमै नपुगी हिमाल आरोहणको नाममा पर्यटन विभागले प्रमाणपत्र दिएको विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेको छ ।

सगरमाथा हिमाल आरोहणका नाममा सेभेन समिट ट्रेक्स प्रालिले सन् २०१३ मा भारतीय नागरिक राघवलाई हिमाल आरोहण नै नगराइ आरोहणको सक्कली प्रमाणपत्र दिलाएको भन्दै उजुरीसमेत परेको हो । सगरमाथा हिमाल आरोहण गरेको प्रमाणका रूपमा वेस क्याम्पमा बसेर खिचिएको फोटोलाई प्रमाणरूपमा पेस गरिएको भन्दै आरोहणको वैधतामाथि प्रश्न उठेको छ । हिमाल आरोहणमा नाममा हुने नक्कली कामको विषयमा पर्यटन बोर्ड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राघवको हिमाल आरोहणका विषयमा छानबिन गर्न माग गर्दै सोमबार उजुरी परेको छ ।

नेपालको सातवटा हिमाल आरोहण गराउँदै आएका सेभेन समिटका अध्यक्ष मिंमा शेर्पाले भारतीय नागरिकको राहदानीमा उमेर सच्याएर हिमाल आरोहण गराएको भनिए पनि जोनेजाले सगरमाथा बेस क्याम्पमा फोटो खिचाएर विभागबाट हिमाल आरोहणको प्रमाणपत्र समेत लिइसकेका छन् । सेभेन समिटले सन् २०१३ मा कानुनको उल्लंघन गर्दै जोनेजाको राहदानी नै सच्याएर हिमाल आरोहणका लागि स्वीकृति लिएको थियो ।

सेभेन समिटका अध्यक्षको निर्देशनमा भारतीय नागरिकको राहदानीमा टिपेक्स लगाएर उमेर सच्चाएर हिमाल आरोहणका लागि अनुमति लिइएको थियो । सो प्रकरणमा सेभेन समिटको कानुन शाखा हेर्ने निभेष कार्कीसहित तीन जना कारबाहीको दायरमा आइसकेका छन् । तर, अध्यक्षले भने अझैसम्म कानुनी दायरामा आएका छैनन् ।

अध्यक्ष शेर्पाले भारतीय नागरिकको राहदानीलाई किर्ते गरेर सगरमाथा चुचुरोमै नपुगी हिमाल आरोहण गरेको प्रमाणपत्र दिलाएको भन्दै अख्तियारदेखि पर्यटन विभागसम्म उजुरी परेको छ । उजुरीमा पदीय दुरुपयोग गरेर कानुनविपरीत पर्वतारोहण अनुमतिपत्र दिएको र प्रमाणपत्र बिक्री गर्ने कर्मचारीलाई कारबाहीको गर्न माग गरिएको छ ।

उजुरीमा सगरमाथा आरोहणका नाममा शेर्पाले १५ वर्ष ९ महिना पुगेका भारतीय नागरिक जोनेजाको १६ वर्ष उमेर बनाएर पर्वतारोहण अनुमतिपत्र लिइएको उल्लेख छ । सन् २०१३ मा पर्यटन विभागले हिमाल आरोहणको विषयमा जोनेजाको उमेर १६ वर्ष नपुग्ने भनी फर्काएपछि शेर्पाको संलग्नतामा राहदानीमा टिपेक्स लगाएर १६ वर्ष उमेर पुगेको बनाएर अनुमतिपत्र लिएको उल्लेख छ । भारतीय नागरिक जोनेजाको हिमाल आरोहणका विषयमा सेभेन समिटका कर्मचारीलाई कारबाही गरे पनि पर्यटन विभागका कर्मचारीको संलग्नता नदेखिएको भन्दै कुनै कारबाही भएन ।

नेपालको कानुनअनुसार सगरमाथा आरोहण गर्न १६ वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ । सन् २०१३ मा भारतीय नागरिक जोनेजाको उमेर १६ वर्ष पुग्न ९ महिना अपुग रहेको थियो । सेभेन समिटमार्फत् हिमाल आरोहण गर्न आएका जोनेजाको उमेर सच्याउन लगाएर १६ वर्ष भएको राहदानीको फोटोकपी पर्यटन विभागमा पेस गरे ।

जोनेजाको सक्कली राहदानीमा जन्ममिति १९९७ अक्टोबर २१ रहेको छ । फोटोसप गरेर सच्याइएको राहदानीको फोटोकपीमा १९९७ जनवरी २१ रहेको छ । पर्यटन विभागले जोनेजासहितको १४ जनाको समूहलाई सगरमाथा आरोहणका लागि सन् २०१३ अप्रिल ९ तारिखमा अनुमति दिएको थियो । आरोहण दलमा जोनेजा राघवलाई जसरी पनि समावेश गर्न सो टिमले दबाब दिएपछि मिंमाले फोटोकपीमा जन्ममिति सच्चाएर हिमाल आरोहणमा समावेश गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot