Logo

दुर्गा प्रसाईंले केपी ओलीकहाँ टेप बुझाएपछि रवि लामिछानेले स्वास्थ्यमन्त्री एमालेलाई नै छोड्नुभयोः कांग्रेस नेता



काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले रवि लामिछानेले सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो टेप केपी शर्मा ओलीकहाँ पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेबीच एकीकरण हुने अवस्था आएको बताएका छन् ।
‘त्यो अडियो टेप माघ १ वा २ गते नै ओलीकहाँ पुगेको हो । टेप हेरेर एमालेले रविजीसँग बार्गेनिङ थाल्यो र रविजीलाई दिने भनिएको स्वास्थ्य मन्त्रालय आफैंसँग राख्यो र राज्यमन्त्री रविजीको मान्छेलाई दियो । त्यही टेपका कारण रविजी र एमालेको पार्टी एकीकरणको चर्चासम्म चल्यो । टेप ओलीकहाँ नगएको भए पहिले नै सार्वजनिक हुन्थ्यो । एमालेका साथीहरुले लुकाए । एमालेका मन्त्रीको ७० करोड र स्वतन्त्र पार्टीका सांसदका २ करोड ५० करोडको काण्ड उस्तै हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै खतिवडाले भने ।
रवि लामिछानेको राजनीतिक भविष्य अन्योलमा रहेको पनि उनले औंल्याए । खतिवडाले भने, ‘रविजी युवा साथी हुनुहुन्छ । मिडियामा रहँदा जनताको पक्षमा काम गर्नुभएको पनि हो । तर संसदमा आइसकेपछिको भूमिका गलत ट्रयाकमा छ । यति छिटै उपप्रधान र गृहमन्त्री बन्नुभयो र छिटो बाहिरिनुपर्यो । उहाँसँग प्रतिभा र क्षमता छ । तर उहाँले उदण्डता, अपरिपक्वता र आवेगका कारण मुलुकले दुःख पाउने देखियो । उहाँले सुरुमै पार्टीको गण्डकी प्रदेश प्रमुख बनाएका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियोप्रति संसदमा माफी मागेर पुग्दैन । उहाँको राजनीति टिक्ने खालको देखिएन ।’
स्वतन्त्र पार्टीको कोर टिममा को को छन्, विस्तृत रुपमा छानबिन हुनुपर्ने पनि उनले औंल्याए । सांसद खतिवडाले भने, ‘स्वतन्त्र पार्टीको कोर टिमले मन्त्री बनाउन मात्र दुई करोड खोज्यो कि सांसद बनाउन पनि खोज्यो ? उहाँले मन्त्री बनाएका सबैमा कन्फ्लिक्ट अफ इन्टरेस्ट देखियो । गृहमन्त्रीको नागरिकता र राहदानी काण्ड आयो, शिक्षामन्त्रीको आठ करोडको खेल आयो । श्रममन्त्री पनि म्यानपावरकै मान्छे आए ।’
स्वतन्त्र पार्टीका सभापति लामिछानेमा सामाजिक सञ्जालमा हाटहुट गर्ने र काम उल्टोपाल्टो गर्ने प्रवृत्ति देखिएको उनको टिप्पणी छ । खतिवडाले भने, ‘रविजीले आफू, परिवार र देशलाई ढाँट्नुभयो । चितवनका जनताले नबुझ्नुभएको होला र ? त्यसकारण जनताले चितनको माटोसँग भिजेको जितनारायण श्रेष्ठलाई नै रोज्नेछन् ।’
उनले तनहुँ १ मा डा. स्वर्णिम वाग्ले कांग्रेस छाडेर स्वतन्त्र पार्टीमा उत्साहित हुँदै गए पनि जित्ने सम्भावना नभएको पनि बताए । उनले भने, ‘गोविन्द भट्टराईजी शालीन, भद्र र इमानदार नेता हो । कहिल्यै हाइफाई नगरी लोकतन्त्रका लागि लडेको नेता हो । तनहुँ प्रजातन्त्रको जन्मभूमि पनि हो ।’
कांग्रेसले चारजना मन्त्री नपठाउँदैमा मुलुक नचल्ने भन्ने नहुने पनि खतिवडाले बताए । उनले भने, ‘कांग्रेसमा मन्त्री हुन नपाउने चारजना मात्र छैनन्, त्यस्ता व्यक्ति धेरै छन् । चार जना मन्त्री नजाँदैमा मुलुक नचल्ने पनि होइन । सभापतिले सल्लाह गरेर योग्य, इमानदार र काम गर्न सक्ने नेताहरुलाई पठाउनु होला ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot