Logo

महासंघमा त्रिपक्षीय भिडन्त



काठमाडौं, चैत २८ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि आज र भोली साधारणसभा हुँदैछ। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था रहेकाले वरिष्ठ उपाध्यक्ष पदको प्रतिस्पर्धा रोचक हुने देखिएको छ। साधारणसभापछि वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तीन वर्षका लागि स्वतः महासंघको अध्यक्ष हुँदैछन्।

महासंघको आसन्न निर्वाचनमा तीनवटा समूह निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका छन्। महासंघको ५७ औं साधारणसभा तथा निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, रामचन्द्र संघई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ। महासंघको विधानअनुसार एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष, एक कोषाध्यक्ष पदाधिकारी रहने व्यवस्था छ। त्यसैगरी, एसोसिएटबाट १९, जिल्ला र नगरबाट १८ र वस्तुगतबाट १२ जना केन्द्रीय सदस्य रहन्छन्।

त्यसैगरी प्रत्येक प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना केन्द्रीय सदस्य रहने महासंघले जनाएको छ। महासंघको चुनावमा जिल्ला, नगर उद्योग वाणिज्य संघको मतभार ५० प्रतिशत, एसोसिएट सदस्य (द्विराष्ट्रिय समेत) को ३० र वस्तुगत सदस्यको २० प्रतिशत मतभार रहने व्यवस्था छ। वरिष्ठ उपाध्यक्षमा विजयी हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्छ। वरिष्ठ उपाध्यक्षका कुनै उम्मेदवारले पहिलो चरणको मतदानमा खसेको कुल मतको ५० प्रतिशत ल्याउन नसकेमा दोस्रो चरणमा निर्वाचन हुने व्यवस्था छ।

दोस्रो चरणमा पहिलो र दोस्रो मत ल्याउने उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुन्छ। वरिष्ठ उपाध्यक्षका प्रत्यासीले विभिन्न प्रतिवद्धता व्यक्त गर्दै चुनावी मैदानमा होमिएका छन्।



प्रतिक्रिया दिनुहोस्