Logo

माओवादीका पूर्वनेतासँग हात बढाउँदै दाहाल



काठमाडौं, चैत २८ । ‘यो घरसँग मेरो ४० वर्षदेखिको सम्बन्ध छ। जहाँ म खानेबस्ने गर्थें। त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ,’एमाले नेता तथा पूर्वसहकर्मी लेखराज भट्टलाई भेट्न उनकै निवास पुगेका माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ हो यो। सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त कार्यक्रममा सहभागी हुन आइतबार महेन्द्रनगर जाने क्रममा प्रधानमन्त्री दाहालले धनगढीस्थित भट्टकै निवास पुगेर फेरि सहकार्यको हात अघि बढाएका हुन्।

एमाले र माओवादी केन्द्र पार्टी एकताले पूर्णता नपाउँदै पुरानै अवस्थामा फर्केका थिए। त्यसपछि एमाले रोजेका भट्टप्रति रुष्ट दाहालले ‘गद्दार’नै घोषणा गर्न भ्याए। त्यसले दाहाल र भट्ट सम्बन्ध औपचारिकतामा मात्र सीमित बन्न पुगेको थियो। तर पछिल्लो समय माओवादीका पूर्वनेताहरूलाई पार्टीमा फर्काउने प्रयासमा रहेका दाहाल भट्टसँगको सम्बन्ध सुधारको प्रयासमा जुटेका हुन्।

एमाले अध्यक्ष केपी ओलीले माओवादीले सञ्चालन गरेको १० वर्षे हिंसात्मक आन्दोलन असहिष्णु भएको अभिव्यक्ति दिँदै आएका छन्। त्यसले माओवादीबाट एमाले प्रवेश गरेका भट्टसहित अधिकांश नेता तथा कार्यकर्ता सन्तुष्ट नरहेको दाहालको बुझाइ छ। सोहीअनुसार पार्टीका पूर्व नेताहरूलाई फिर्ता ल्याउने प्रक्रियाअन्तर्गत एमाले सचिवसमेत रहेका भट्टलाई भेट्न दाहाल धनगढीस्थित उनकै निवासमा पुगेको निकट स्रोतको दाबी छ।

भट्ट एमालेमा रहेपछि दाहालले सुदूरपश्चिम क्षेत्रबाट खगराज भट्टलाई अघि बढाउन खोजेको बताइन्छ। तर, खगराजले पार्टीका सबै पक्षलाई समन्वय गरेर अघि बढ्न नसकेको निष्कर्षमा दाहाल पुगेको स्रोतको दाबी छ। अझ अध्यक्ष दाहालकी बुहारीसमेत रहेकी नेत्री बिना मगरसँगसमेत खगराजको सम्बन्ध सुमधुर नरहेको जनाउँदै निकट स्रोतले भन्यो, ‘पार्टी संगठन कमजोर हुँदै गएपछि लेखराज भट्टलाई पार्टी संगठनमा फिर्ता ल्याउने प्रयास सुरु भएको छ। परिस्थिति मिल्दै जाँदा उहाँसहित साथीहरू पार्टीमा फिर्ता आउने सम्भावना छ।’

माओवादी छाडेर एमालेसहित विभिन्न दलमा गएका नेताहरूलाई पार्टीमा फिर्ता ल्याउन दाहाल सक्रिय रहेको स्रोतको दाबी छ। दाहाललाई नेता कृष्णबहादुर महराले साथ दिँदै आएका छन्। नेकपा विभाजित भएर दुई पार्टी अलग भएपछि एमाले रोजेका नेता भट्टसहित टोपबहादुर रायमाझी, रामबहादुर थापासहित नेतासँग पनि माओवादी नेताहरू संवादमा रहेका छन्। त्यति मात्र होइन, माओवादीबाट अलग भएर विभिन्न समूहमा विभाजित भएकाहरूलाई पनि पार्टीमा ल्याउन महरा नै लागि परेको स्रोतको दाबी छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्