Logo

विद्यार्थीले अन्तरजिल्ला र अन्तरकलेज स्थान्तरण हुन नपाउने



काठमाडौं, चैत २८ । त्रिभुवन विश्वविद्यालयले परीक्षा र स्थानान्तरणमा व्यवस्थापन गर्ने भन्दै विद्यार्थीलाई अन्तर जिल्ला र अन्तर कलेज स्थानान्तरण गर्न नपाइने निर्णय गरेको छ। विश्वविद्यालयले निजी कलेजमा भर्ना भएका विद्यार्थी अबदेखि आंगिक कलेजमा बीचमा स्थानान्तरण हुन नपाउने समेत निर्णय गरेको छ।

विश्वविद्यालयको प्राज्ञिक परिषद्को फागुन २८ को निर्णयले विद्यार्थीलाई अन्तर कलेज र अन्तर जिज्लामा रोक लगाएको हो।

त्रिवि प्राज्ञिक परिषद्को फागुन २८ गतेको निर्णयको बुँदा नम्बर ९९ मा आंगिक क्याम्पसबाट आंगिक क्याम्पस र सम्बन्धन प्राप्त कलेजबाट सम्बन्धन प्राप्त क्याम्पसमा मात्रै स्थानान्तरण गर्न पाइने ब्यवस्था गरेको छ। ‘जुनसुकै अवस्थामा पनि आंगिक क्याम्पसबाहेक अन्य क्याम्पसहरूमा एउटै जिल्लाभित्र स्थानान्तरण गर्न नपाइने ’त्रिविको निर्णयमा उल्लेख छ ‘प्रथम र अन्तिम वर्ष( सेमेष्टरमा स्थानान्तरण गर्न नपाउने।

तर आंगिक क्याम्पसहरूमा ऐक्षिक विषय छनौट र प्रयोगशालाको ब्यवस्थापनको कारणले यस निर्णयले प्राविधिक समस्या उत्पन्न हुने भएमा अन्तिम वर्ष(सेमेष्टरमा स्थानान्तरण गर्न पाउने वा नपाउने सम्बन्धमा अन्तिम निर्णय गर्ने अधिकार सम्बन्धित डिनलाई हुने छ।’ सोही निर्णयमा थप व्यवस्था गरिएको छ, ‘यसबाहेक अन्य ढंगले भए गरेका सबै स्थानान्तरण र नियमविपरीत स्थानान्तरण भएका क्याम्पसबाट दिएका परीक्षा स्वतः रद्द हुनेछ।’

शिक्षाध्यक्ष शिवलाला भुसालले विद्यार्थीमा परीक्षाको समयममा चिट चोर्ने विकृति रोक्न र विद्यार्थीलाई आंगिक कलेजमै टिकाइ राख्न त्रिविले स्थानान्तरणमा नयाँ व्यवस्था गरेको दाबी गरे। ‘पहिले निजीमा भर्ना हुने पछि त्रिविको प्रमाणपत्र मात्र लिने उद्देश्यले पनि विद्यार्थीले आंगिक कलेजमा स्थानान्तरण गरेको पाइयो।

यति मात्र होइन भर्ना एउटा कलेजमा गर्ने पछि परीक्षाको समयमा चिट चोर्न पाउने कलेजमा स्थानान्तरण गर्ने विकृति पनि पाइयो ,’उनले भने, ‘सुरुमा निजीमा भर्ना हुने अनि पढाइको बीचमा सरकारीमा भर्ना हुने गलत प्रवृति देखियो। पैसाजति निजीमा बुझाएर सरकारीमा प्रमाणपत्र मात्र लिन आउने विकृति रोक्न स्थानान्तरणमा व्यवस्थापन गर्न खोजिएको हो।’

तर त्रिविको यस्तो निर्णयलाई शिक्षाविद् तथा विद्यार्थीहरूले विद्यार्थीलाई अंकुश लगाउन खोजेको प्रतिक्रिया दिएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot