Logo

राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट देऊ भन्न नसक्ने भएँः डा. दीक्षित



काठमाडौं, २८ चैत । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो टेप सार्वजनिक गरिदिएकामा व्यवसायी दुर्गा प्रसाईंलाई धन्यवाद दिएका छन् ।
‘दुर्गा प्रसाईले टेप पर्दाफास गर्नुभएको छ । दुर्गाजीलाई धन्यवाद छ । यस्ता कुरा स्वतन्त्र पार्टीमा मात्र होइन, थुप्रै पार्टीमा छन् । दुर्गाजीले किनबेच सुनाएपछि अझ छर्लंग भयो । रिस पनि उठ्यो । हामीले यस्ता सांसद पनि पठाएछौं । राजनीति भनेको सबै पैसाको खेल रहेछ । स्वास्थ्य मन्त्री बन्न दुई करोड, शिक्षामन्त्रीलाई आठ करोड । अनि यो देशमा काम गर्ने इच्छा कसलाई हुन्छ ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
डा. दीक्षितले टेप काण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपसभापति, महासचिव, सचिव, कोषाध्यक्ष मुछिएकाले कोही पनि उम्कन नपाउने बताए । उनले भने, ‘हामीले स्वतन्त्र पाटीलाई सुशासन गर्न आएको भनेर बुझेका थियौं । यसको पनि देखाउने दाँत एउटा, चपाउने दाँत अर्कै रहेछ ।’
टेप काण्डमा संसदीय समिति बनाउनु बेकार हुने पनि उनले बताए । डा. दीक्षितले थपे, ‘अब संसदबाट समिति बनाउनु बेकार हो । त्यसमा पनि तिनै पार्टीका सांसद हुन्छन् । प्रेम सुवाल र चित्रबहादुर केसीलाई त जिम्मा दिँदैनन् नि ।’
अब मुलुक राष्ट्रपतीय प्रणालीमा जानुपर्ने उनको जिकिर थियो । उनले भने, ‘संसदीय पद्धतिमा गएको ७२ वर्ष भयो । संसदीय पद्धति फाप्दै फापेन । यो भन्दा धेरै राम्रो विकल्प छन् । हामीले राजतन्त्र फ्याँक्दा विकल्प राम्ररी सोच्नुपर्थ्र्यो । अब राष्ट्रपतीय प्रणालीमा जानैपर्छ । मुलुकले सेतो हात्ती धान्न सक्दैन । नो, इनफ इज इनफ ।’
मंसिर ४ मा रास्वपालाई मतदान गर्नुभएको थियो, यसपालि मतदान गर्न भन्न सक्नुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा डा. दीक्षितले भने, ‘चार महिना अघिको रोजाइ अब हुन सक्दैन । रविलाई दिने कुरा भएन । तात्तातै रास्वपा पनि मुछियो । उसलाई देऊ भन्न पनि नसक्ने भएँ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot