Logo

किसानलाई कृषि सामग्री र तालिम



सिन्धुपाल्चोक, २८ चैत । पाँचपोखरी थाङपाल गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । पालिकाले सोमबार ५० प्रतिशत अनुदानमा किसानका लागि १७ थान नौ र १० एचपी मिनिटिलर वितरण गरेको पालिकाका कृषि शाखा प्रमुख निमराज गिरीले जानकारी दिए ।

समयानुसार किसानलाई आवश्यक कृषि पेसासँग सम्बन्धित कृषिऔँजार, बिउविजन, प्राविधिक सरसल्लाह, तालिम, उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा सहजता ल्याउन थप कार्यक्रमको आपेक्षा गरिएको स्थानीय हसिना वाइवाले बताए । ती सामग्री हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले उन्नत बाली लगाउन आग्रह गरे । उनले कृषिमा आधुनिकीकरण गर्न र व्यवस्थित बनाउनका लागि विभिन्न कृषि औँजार वितरण गरिएको जानकारी गराउँदै किसानका समस्या समाधान गर्न गाउँपालिका तयार रहेको बताए ।

कृषि औँजार बिग्रने र बनाउन समस्या भएपछि किसानको समस्यालाई दृष्टिगत गर्दै पालिकाले मिनिटिलर मर्मतसम्बन्धी तालिमसमेत सञ्चालन गरेको अधिकारीले बताए । पालिकाले यसअघि पनि विभिन्न बीउविजन र कृषि सामग्री, तालिम किसानलाई दिँदै आएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot