काठमाडौँ, २८ चैत । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफैँ अग्रसर हुनुपर्नेमा उनले जोड दिनुए । पार्टी अध्यक्ष नेपालले व्यक्तिवाद, भ्रष्टाचार प्रवृत्तिलाई निमिट्यान्न पार्नका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने भनाइ राखे ।
उनले दश जोड दुईसम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औल्याए । उनले आजकल नैतिक शिक्षा नहुनाले सामाजिक मर्यादा बिर्सन थालेको उल्लेख गर्दै विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेएका नेता नेपालले अहिलेको सरकारले शिक्षा क्षेत्रलाई उच्चतम प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले शैक्षिक प्रणाली सुधार्ने कर्तव्य शिक्षकको रहेको भन्दै आफ्नो विद्यालयमा शिक्षकले राम्रो पढाउनुपर्ने बताए ।
कार्यक्रममा सङ्गठनका अध्यक्ष भीमबहादुर बस्नेतले शिक्षालाई श्रम र सीपसँग जोड्नुपर्ने बताए । महाधिवेशनमा देशभरिबाट तीन सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । रासस