Logo

एमाले नेतालाई धमलाको प्रश्न– माओवादी केन्द्रमै फर्कन लाग्नुभएको हो ?



काठमाडौं, २९ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने विषयमा आफ्नो पार्टीको विरोध नरहेको बताएका छन् ।
‘सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकका केही बुँदा नमिलेका हुन सक्छन् । तर यसमा नेकपा एमालेको विरोध हो जस्तो मलाई लाग्दैन । मलाई के लाग्छ भने १२ बुँदे समझदारी गर्ने पार्टीहरु एकै ठाउँमा बसेर यसलाई टुंग्याउनुको विकल्प छैन । शान्तिप्रक्रियामा एमालेले साथ दिन्छ र दिनुपर्छ । दुईचार दिनभित्र कुरा मिल्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै थापाले भने ।
तपाईंहरु माओवादी केन्द्रमै फर्कन लाग्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा थापाले भने, ‘एक महिनादेखि राष्ट्रका लागि संगीत अभियात्रामा छु । मलाई यसबारे खासै थाहा छैन । वामपन्थी एकता, धु्रवीकरण र रुपान्तरण अहिलेको एजेन्डा हो भनेर कवि कलाकारहरु साझा कार्यक्रममा लागेका छौं । अब यताउता जाने भन्ने इस्यु नै होइन ।’
मुलुकलाई शान्ति, सुशासन र समृद्धिको बाटोतिर लिएर जान वामपन्थीहरुबीच सहकार्य आवश्यक रहेको पनि उनले बताए । थापाले थपे, ‘अहिले विमति सबैको सबैसँग छ । अन्तर्द्वन्द्व नभएको पार्टी नै छैन । तर हामीले हिजो पनि एउटै पार्टी बनाएको हो, एउटै कुर्सीमा बसेको हो । एक महिनासम्म एउटै सरकार थियो । त्यसैले वामपन्थी जनमतको सम्मान गर्दै नेकपा नब्युँताए कम्युनिस्ट आन्दोलनको भविष्य छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot