Logo

सांसद डा. ढाकाकुमार श्रेष्ठलाई चोख्याउन लाग्दैनौंः अधिवक्ता न्यौपाने



काठमाडौं, २९ चैत । अधिवक्ता यज्ञमणि न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो टेप प्रकरणबारे पार्टीको केन्द्रीय समितिले टुंगो लगाउने बताएका छन् ।
‘अडियो प्रकरण छानबिन गर्न गठित समितिले सांसद डा. ढाकाकुमार श्रेष्ठसँग लिखित स्पष्टीकरण र मौखिक बयान लिएको छ । उहाँले व्यवसायी दुर्गा प्रसाईसँगको फोन संवाद आफ्नो नभएको र क्यारिकेचर गरी आफू र पार्टीलाई फसाउने खेल भइरहेको छ, म सचेत छु भन्नुभएको छ । समितिले हिजो बेलुकी नै केन्द्रीय समितिमा प्रतिवेदन बुझाएको छ । केन्द्रीय समितिले प्रतिवेदनको आधारमा आवश्यक निर्णय गर्न सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै न्यौपानेले भने ।
उनले कुनै पनि व्यक्तिले आफ्ना गलत आचरण ढाकछोप गर्न अरुलाई मुछ्छु भन्न नमिल्ने पनि औंल्याए । उनले भने, ‘रास्वपाले अडियो सार्वजनिक भएको १५ मिनेटमै निलम्बन गरेकाले पनि सांसद श्रेष्ठलाई चोख्याउने होइन कि सत्यतथ्य पत्ता लगाउनका लागि समिति बनाएको स्पष्ट छ । रास्वपाको खोल ओढेर कसैले पनि गैरआचरण गर्न पाउँदैन । कोर टिमका बारेमा कसैले पुष्टि हुने डकुमेन्ट ल्याउँछ भने हामी अनुसन्धान गरेर अघि बढ्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot