Logo

सर्वेन्द्र खनाल, राम न्यौपाने र पुरुषोत्तम पौडेललाई संसद्मा स्वागत गर्न ओली आँतुर



काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बैशाख १० गते हुने उपनिर्वाचनपछि संसद्मा एमालेका उम्मेदवारहरुलाई स्वागत गर्न आफू आँतुर भएको बताएका छन ।

बैशाख १० गते तनहुँ–१, बारा–२ र चितवन–२ मा उपनिर्वाचन हुँदैछ । ओलीले आफ्नो फेशबुक पेजमार्फत तनहुँ–१ बाट सर्वेन्द्र खनाल, चितवन–२ बाट राम न्यौपाने, र बारा–२ बाट पुरुषोत्तम पौडेललाई बैशाख १० गतेको उपचुनावपछि संसदमा स्वागत गर्ने पर्खाइमा रहेको उल्लेख गरेका छन् । ओली उपनिर्वाचनलाई लिएर पार्टीका उम्मेदवार जिताउन लागिपर्ने भएका छन् ।

उनी आज/भोलि नै चितवन जाने तयारीमा छन् । अहिले चितवनमा पार्टीका प्रभावशाली नेता गोकुल बाँस्कोटा खटिएका छन् । सो क्षेत्रका नेता तथा पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डेपनि सक्रिय छन् । चितवन–२ मा एमालेका न्यौपानेसहित रास्वपाका सभापति रवि लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ चुनावी प्रतिष्पर्धामा छन् ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायतका दलको समर्थन भने श्रेष्ठलाई छ । उता, बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवपनि चुनावी मैदानमा छन् । सो क्षेत्रमा जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई मैदानमा उतारेको छ । यस्तै, रास्वपाले भने रमेश खरेललाई उठाएको छ । एमालेबाट विद्रोह गरेका प्रभु साहले भने आफ्नो दल आजपाबाट अरुण ज्ञवालीलाई उठाएका छन् ।

तनहुँमा भने कांग्रेससहितको सत्ता गठबन्धनले गोविन्द भट्टराईलाई उठाएको छ भने एमालेबाट पूर्व आईजिपी सर्वेन्द्र खनाल मैदानमा छन् । भर्खरै कांग्रेस परित्याग गरेका डा. स्वर्णिम वाग्ले रास्वपाबाट उक्त क्षेत्रको उम्मेदवार छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot