Logo

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमाथि नैतिकताको प्रश्न



काठमाडौं, वैशाख १ ।  चैत १२ गते २५ सांसदले आफूलाई दिएको समर्थन फिर्ता लिएपछि ३३ सांसदको मात्रै समर्थन कायम रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरी स्पष्ट अल्पमतमा परे। कुल ८७ सांसद संख्या रहेको यो प्रदेशमा बहुमतका लागि पु¥यााउनुपर्ने आवश्यक ४४ सांसद संख्या रहेन।

आफ्नो दल एमालेका २९ र राप्रपाका ४ बाहेक सरकारको समर्थनमा रहेका सबै सांसदले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीका सामु संवैधानिक अधिकार प्रयोगको अधिकार उपयोग वा तत्काल नैतिकता प्रदर्शन गर्दै राजीनामा दिने भन्ने दुई विकल्प रहे। उनले कुनै पनि सत्ता साझेदार सांसदले समर्थन फिर्ता लिएमा ३० दिनभित्रमा विश्वासको मत लिन पाउने संवैधानिक अधिकार प्रयोग गर्ने निर्णय लिएर र ३० दिनको भाका गनेर मुख्यमन्त्री पदमा आसिन रहिरहेका छन्।

उनले नैतिकताका आधारमा राजीनामा दिने र तत्कालै नयाँ सरकार गठनको बाटो कुरेका कांग्रेस माओवादीलगायतका दलहरू सम्मिलित गठबन्धनमा आवद्ध दलहरूका लागि मुख्यमन्त्री गिरीले तत्काल सरकार गठनको बाटो खोलिदिएनन्। आफू स्पष्ट अल्पमतमा रहेको भए पनि महिना दिनसम्म सत्तामा टिक्ने रणनीतिमा रहेका मुख्यमन्त्री गिरीले संवैधानिक अधिकारको प्रयोगको बाटो समाते तर उनीमाथि नैतिकताको प्रश्न भने उठेको छ।

२५ सांसदले साथ छोडेपछि अल्पमतमा पर्दासमेत मुख्यमन्त्री गिरीले राजीनामा नदिनुलाई गठबन्धनमा आवद्ध दलहरूले उनको ‘सत्ता मोह’उजागर बनेको टिप्पणी गरेका छन्। अल्पमतमा परिसकेपछि सरकारको नेतृत्व छाडेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा निरीह बनेरै सत्तामा टाँसिइरहेको गठबन्धन पक्षीय सांसदहरूको टिप्पणी छ। ‘उहाँबाट त सरकारमा बस्ने जनादेश गुमिसकेको छ,’ लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता सन्तोष कुमार पाण्डेले भने, ‘तर उहाँ लाचार बनेर सरकार प्रमुखको रूपमा बसिरहनु भएको छ, यो त उहाँकै लागि लाजको विषय बन्नुपर्ने हो।’

गत १२ गते सरकारमा रहेका २५ सांसदहरूले सरकारलाई दिएको समर्थन फिर्तापछि अल्पमतमा रहेका मुख्यमन्त्री गिरीले नैतिकताका आधारमा राजीनामा दिने झिनो अपेक्षामा गठबन्धन थियो। तर मुख्यमन्त्री गिरी भने राजीनामाका विषयमा टसमस भएका छैनन्। उनले संवैधानिक अधिकार प्रयोग गर्दै संविधानले व्यवस्था गरेबमोजिम मुख्यमन्त्रीमै आसिन हुने निर्णय लिएको उनी निकटस्थहरू बताउँछन्। ‘संवैधानिक व्यवस्थाको कुरा एउटा भयो, तर नैतिकता भन्ने चिज पनि त हुन्छ होला नि,’ पाण्डे भन्छन्, ‘म कमजोर भइसकें, मसँग जनमत रहेन भन्ने बुझेर उहाँले आफ्नो नैतिकता प्रदर्शन गर्नुपर्ने हैन र ?’ नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot