Logo

स्वास्थ्य प्रणालीमा चुनौती अध्यन प्रतिवेदन



काठमाडौं, वैशाख ३ । स्वास्थ्य प्रणालीमा चुनौती सिर्जना भएको अनुसन्धानले देखाएको छ। विभिन्न छ संस्था सम्मिलित ग्लोबल रिसर्च टोलीले नेपालको स्वास्थ्य प्रणालीमा सङ्घीयताको प्रभावबारे गरिएको अनुसन्धानले स्वास्थ्य क्षेत्रमा चुनौती सिर्जना गरिरहेको देखाएको हो।

सन् २०२० देखि हालसम्म जारी अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा स्वास्थ्य प्रणालीमा के–कस्ता परिवर्तन भए भन्ने विषय समेटिएको छ। अनुसन्धान टोलीमा मनमोहन मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान, फेज नेपाल र बेलायतका तीन संस्था (सेफिल्ड, बर्नमाउथ र हडर्सफिल्ड विश्वविद्यालय)का अनुसन्धानकर्ता संलग्न रहेका छन्। मुगु, नवलपरासी, सिन्धुपाल्चोक र काठमाडौँका दुई–दुईवटा पालिकामा अनुसन्धान केन्द्रित भएर गरिएको थियो।

अनुसन्धानकर्ताले तीनवटा प्रदेशमा सरकारका तीनै तहका २४३ सरोकारवालासँग अन्तर्वार्ता लिएर प्रतिवेदन तयार पारेका थिए। अनुसन्धानको समय सन् २०२० देखि २०२३ सम्म तोकिए पनि कोभिडका कारण एक वर्ष पछाडि परेको थियो। गुणात्मक विधिबाट गरिएको अनुसन्धानले स्वास्थ्य क्षेत्रमा सकारात्मक र नकारात्मक पक्ष रहेको जनाएको छ।

अनुसन्धानमा सहभागी डा। जीवन कार्कीले स्वास्थ्य क्षेत्रमा सङ्घीयतापछि चुनौती र अवसर दुवै देखाएको बताए। उनले सङ्घीतापछि स्थानीय तहमा स्वास्थ्यकर्मी बढेको बताउँदै स्वास्थ्य क्षेत्रको बजेटलाई अझ प्रभावकारी ढङ्गले काम गर्नका लागि स्थानीय तहमा तालिम आवश्यकता रहेको बताए।

सेफिल्ड युनिभर्सिटीका प्राध्यापक साइमन स्टनले नेपालमा सङ्घीयतापछि कर्मचारीको स्थायित्व र स्वास्थ्यकर्मीका लागि वृत्तिविकासका अवसरमा प्रभाव पारेको बताए। तीन तहको सरकारबीच कार्यविभाजनका विषयमा अलमल रहेको र कसले के गर्ने भनेर स्पष्ट हुन नसकेको पाइएको थियो। यस्तै स्वास्थ्यमा प्रदेश सरकारको भूमिकाबारे प्रस्ट नभएको अनुसन्धानले देखाएको छ। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot