Logo

पर्यटन प्रवर्द्धनका लागि पदयात्रा



गलकोट, ३ वैशाख । यहाँको दुई पर्यटकीय गन्तव्य जोड्नका लािग पदयात्रा गरिएको छ । धौलागिरि चक्रिय पदमार्गका रुपमा नयाँ गन्तव्य बनाउने उद्देश्यले नयाँ वर्षमा पदयात्रा आयोजना गरिएको पर्यटन अभियान्ता खिमानन्द कँडेलले जानकारी दिए ।

पर्यटकीय क्षेत्रको विकास र प्रचार–प्रसारका लागि पर्यटन अभियान्ता, सरोकारवाला निकाय तथा स्थानीयवासीको सक्रियतामा गाजादह, हलहले, घोडाँबाधे, सिलकोट हुँदै बेलढुङ्गासम्म पदयात्रा गरिएको हो ।

“पर्यटन विकासका लागि प्रचारप्रसार र पूर्वाधार ठूलो कुरा हो, अहिले प्रचारप्रसारका कारण बेलढुङ्गामा पर्यटक बढेका छन्, तर एक स्थानमा आएका पर्यटकलाई अर्को स्थानमा लैजान सकिएको छैन”, कँडेलले भने, “गाजा दहलाई बेलढुङ्गासम्म जोड्ने र घोडाँबाधेलाई ‘ग्लोबल कल्चर भ्याली’का रुपमा विकास गर्नका लागि पदयात्रा गरिएको हो ।”

पदयात्रासँगै घोडाबाधे, बेलढुङ्गालगायतको स्थानमा पर्यटकीयस्थलको विकासका लागि गर्न सकिने नवीन कामका विषयमा अन्तरक्रिया समेत गरिएको छ । पदयात्रामा स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा पर्यटन अभियान्ता सहभागी थिए। गलकोट नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकाको आयोजनामा पदयात्राको गरिएको हो ।

पदयात्राकै क्रममा पदयात्रीसहितको समूहले पर्यटन अभियान्ता कृष्ण केसीको संयोजनमा घोडाबाधेमा एक सय ९८ देशको राष्ट्रिय झण्डा फहराएका थिए । कृष्ण केसीले गाजादह, घोडाबाँधे, बेलढुङ्गा हुँदै पञ्चकोटलाई धौलागिरि चक्रिय पदमार्गको रुपमा विकास गर्नका लागि निरन्तर प्रवद्र्धनात्मक काम गरिरहेको बताए।

गलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको सङ्गमस्थल गाजाको दह समद्री सतहदेखि दुई हजार चार सय ८० मिटर उचाइमा रहेको छ भने काठेखोला गाउँपालिका–३ धम्जाको बेलढुङ्गा समद्री सतहदेखि दुई हजार ६०० मिटरको उचाइमा रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्