गलेश्वर, ३ वैशाख । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटलाई कटानबाट जोगाउन ग्याबिन जाली भरेर पर्खाल लगाइएको छ । सात वर्षअघि २०७२ देखि बगरफाँटलाई नदी कटानबाट जोगाउनका लागि संरक्षणको काम हुँदै आएको छ ।
चालु आव २०७९÷८० मा पनि खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको रु १० लाखमा एक सय १२ थान जाली भरेर करिब ५० मिटर लम्वाइ र ३० मिटर उचाइको पर्खाल निर्माणकार्य सम्पन्न भएको छ । त्यसअघि गत आव २०७८÷७९ मा खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयकै रु १५ लाख लागतमा एक सय २३ थान जाली भरेर पर्खाल निर्माण गरिएको बगरफाँट बस्ती संरक्षण आयोजनाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए।
त्यसैगरी आव २०७७÷७८ मा खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत गण्डकी प्रदेश सरकारले रु २० लाख र आव २०७६÷७७ मा गण्डकी प्रदेश सरकारकै रु ५० लाखको लागतमा बगरफाँटको दूधेखोलादेखि बाङ्गेघरासम्म करिब दुई किलोमिटर क्षेत्रमा ग्याबिन जाली भरेर तटबन्ध गरिएको अध्यक्ष कार्कीले जानकारी दिए ।
बगरफाँट क्षेत्रको रातढुङ्गादेखि पलाँसेसम्मको क्षेत्र म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको थियो । बस्ती संरक्षणका लागि नदी किनारको यस क्षेत्रमा ग्याबिन जाली लगाउनु बाहेक अर्को विकल्प नरहेकाले नदीको धार परिवर्तन गरी नदीजन्य वस्तुलाई बगरफाँटतर्फ स्थानान्तरण गर्दै ग्याबिन जाली लगाइएको हो ।
करिब दुई सय घरधुरीको बसोबास रहेको बगरफाँट गाउँ हिउँदमा खतरामुक्त रहे पनि बर्खामा भने नदी कटानका कारण सधैँ जोखिममा रहने गरेको स्थानीयले बताएका छन् । विसं २०७५ मा स्थानीय पूर्वाधार तथा साझेदारी कार्यक्रममार्फत प्राप्त रु १० लाखबाट नदीजन्य वस्तुको स्थानान्तरण गराइ उच्च जोखिममा रहेका बगरफाँटका पलाँसे, खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र र जरुवामा संरक्षणको काम सुरु गरिएको अध्यक्ष कार्कीले बताए । त्यसअघि पनि विभिन्न निकायको सहयोगमा नदी किनारामा ग्याबिन जाली लगाउने काम गरिएको थियो ।
अध्यक्ष कार्कीका अनुसार त्यतिखेर म्याग्दी नदीको धार परिवर्तन नहुने गरी बेनी नगरपालिका–६ डम्मराका बासिन्दाको आपसी सहमतिमा करिब पाँच मिटर क्षेत्रबाट स्काभेटरको प्रयोग गरी नदीजन्यवस्तु (ढुङ्गा, गेगर, बालुवा) आदि निकालेर बगरफाँट क्षेत्रमा स्थानान्तरण गरिएको थियो ।
नदीले बगरफाँटको करिब एक सय सय ५० रोपनी क्षेत्रफलको जग्गा कटान गरेर बगाइसकेको छ भने खहरेखोला, हरिहर शिवमन्दिर क्षेत्र, पलाँसे र जरुवा उच्च जोखिममा परेका छन् । रासस