Logo

प्रचण्डले ओलीलाई फेरि झुक्याए



काठमाडौं, ३ वैशाख । प्रतिनिधि सभामा विचाराधिन  टिआरसी विधेयकका विषयमा छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको बैठक स्थगित् भएको छ । प्रधानमन्त्री प्रचण्डले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बोलाए पनि उनी स्वयम् उपस्थित नहुँदा आजको बैठक स्थगित् भएको हो ।

टीआरसी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउन तीन दलका शीर्ष नेताबीच आज छलफल हुने कार्यतालिका रहेको थियो । बैठकमा सहभागी हुन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे बालकोट पुगिसकेका थिए । प्रधानमन्त्री आफैंले नौ बजेका लागि बैठक बोलाए पनि ९ः२० बजे तिर  फोनमार्फत आउन नभ्याउने जानकारी गराएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

‘विहान ९ बजे बैठक बोलाइएको थियो । प्रधानमन्त्री स्वयंले बोलाउनु भएको हो । त्यसमा हाम्रो पार्टीका अध्यक्ष घरमै हुनुहुन्थ्यो । सभामुख पनि पुग्नु भएको थियो । म हाम्रो पार्टीको सचेतक भएको हिसाबले सहभागी थिएँ । पूर्व महान्यायधीवक्ता रमेश बडाल पनि जानु भएको थियो । प्रधानमन्त्रीजीले ९ बजे बैठक बोलाएर ९ः२० तिर फोन गरेर आउन नसक्ने भएँ भन्नुभयो । बैठक रोकियो,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै बर्तौलाले भने ।

टिआरसी विधेयक फास्ट ट्रयाकबाट पारित गर्न नहुने एमालेको अडान कायमै रहेको वर्तौला बताउँछन् । आफूहरुले समितिमा छलफल गरेर उक्त विधेयक पारित गराउन पर्छ भनेपनि माओवादी उक्त प्रस्तावमा सहमत नभएको बर्तौलाको भनाई छ ।

‘हाउसले प्रभावकारी भूमिका पाउनु पर्छ । टिआरसी विधेयकलगायतका कतिपय विधेयकमा छलफल गरौं भन्ने हो । यसका लागि हाउसमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समिति बनाउन पर्छ । उहाँहरु फास्ट ट्रयाक भनिरहनु भएको छ । हामी छलफल गरौं उक्त विषयमा भन्ने पक्षमा छौं । उहाँहरुबाट त्यो तयारी भइरहेको छैन,’– बर्तौलाले भने । File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot