Logo

शेरबहादुर देउवाले ‘तँ अहिले मन्त्री हुन्नस्’ भन्दा पनि म खुसी नै छुः शंकर भण्डारी



काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेसका नेता एवं सांसद शंकर भण्डारीले तनहुँ १ मा आफ्नो पार्टीको कसैसँग प्रतिस्पर्धा नभएको बताएका छन् ।
‘कांग्रेसविरुद्ध विभिन्न शक्तिहरु लागेकै छन् । हामी त्यो सामना गर्दै कति मतान्तरले जित्ने भनेर अगाडि बढ्दै छौं । तनहुँ १ मा गोविन्द भट्टराईजीको राजनीतिक पृष्ठभूमि के हो ? नयाँको पृष्ठभूमि के छ ? लगानी के छ ? आज अवसर खोज्दै हिँड्नेले फेरि अर्को अवसर खोज्दै नहिँड्ला भन्ने के ग्यारेन्टी छ ? यहाँ कतिपयको रहर र रमाइलो मात्र हो । अरु ठाउँमा प्रतिस्पर्धा होला । तर तनहुँमा कांग्रेसको कसैसँग प्रतिस्पर्धा छैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै भण्डारीले भने ।
तनहुँमा गोविन्द भट्टराईको उम्मेदवारीलाई लिएर कांग्रेसभित्र कुनै विवाद नभएको उनले बताए । भण्डारीले थपे, ‘हाम्रो केन्द्रीय स्तरदेखि टोलस्तरका साथीहरु अत्यन्त सक्रियताका साथ खटिएका छन् । गोविन्द भट्टराई नेपाली माटोमा मर्न तयार मानिस हो । निष्ठा, निरन्तरता, त्याग र बलिदानको नाम हो । तनहुँ कांग्रेसको रगतले सिँचित जिल्ला हो । विकासको पूर्वाधार कांग्रेसले बनाएको हो । अब त्यसलाई पूरा गर्छन् । तनहुँका जनता हावा, लहर र उत्तेजनाका आधारमा बहकिँदैनन् ।’
तनहुँ १ मा गोविन्दराज जोशीले पनि कांग्रेसलाई नै सघाउनुपर्ने भण्डारीले बताए । उनले भने, ‘गोविन्दराज जोशीले कांग्रेसलाई गरेको योगदान अतुलनीय छ । हामी त्यसको सम्मान गर्छौं । आफूले दुःख गरेको पार्टीविरुद्ध गएर अन्तिम संस्कारमा चारतारे झन्डा ओढ्ने अवसरबाट उहाँ वन्चित हुनुहोला भन्ने लाग्दैन । उहाँले अन्य उम्मेदवारलाई सघाउने कुरा हल्ला मात्रै हो ।’
तपाईं गोविन्द भट्टराईलाई सघाउन इमानदारीपूर्वक लाग्नुभएको छ त भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘यस्तो अत्यन्त आपत्तिजनक प्रश्न मलाई नसोध्नुस् । म गोविन्द भट्टराईलाई जिताउने अभियानको संयोजक हुँ । मेरो इमान जमानमा प्रश्न गर्दा पाप लाग्छ । तनहुँमा सिंगो कांग्रेस र सिंगो गठबन्धन गोविन्द भट्टराईको पक्षमा छ ।’
रवि लामिछानेको पार्टी चटके र गफाडी मात्र भएको आरोप पनि उनले लगाए । भण्डारीले भने, ‘जनतालाई थाहा छ, रविको पद किन खारेज भयो ? उनका सांसदको पद किन निलम्बन भयो ? स्वर्णिम वाग्लेलाई चिनाउने पार्टी कुन हो ? उनको श्रीमती र छोराछोरीको स्टाटस के हो ? रविको सिद्धान्त के हो ? चर्को स्वरमा बोल्दैनमा राजनीति हुन्छ ? राजनीति भनेको चटकेको चटक, गफाडीको गफ होइन नि ।’
अर्को प्रसंगमा उनले पार्टी सभापति शेरबहादुर देउवाले आफू योग्य भए पनि मन्त्री नबनाएको बताए । भण्डारीले थपे, ‘मन्त्रीका लागि सबभन्दा योग्य मै थिएँ । तर पार्टी सभापति शेरबहादुर देउवाले तँ अहिले मन्त्री हुन्नस् भन्दा पनि म खुसी नै छु । हाम्रो पार्टीमा पदका निम्ति लुछाचुँडी छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot