Logo

राष्ट्रपतिको हातबाट एनआरएनएको अरनिको अन्तर्राष्ट्रिय पुरष्कार प्रदान



काठमाडौं, ४ बैशाख । गैरआवासीय नेपाली संघअन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने अरनिको अन्तर्राष्ट्रिय पुरस्कार यस वर्ष चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको छ ।

हिजो (आइतबार) राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उपन्यासकार आचार्यलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । उक्त पुरस्कारमा २ लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ ।

धादिङको रुबी उपत्यकामा जन्मे–हुर्केकी एक तामाङ युवती लागूपदार्थ ओसार्ने भरियाको रुपमा प्रयोग भएकी र यी युवती अहिले चीनको कारागारमा थुनिएको कथानकमा स्वैरकल्पना मिसाएर पत्रकार आचार्यले लेखेको ‘रुइबा’ले यसपटक अरनिको अन्तर्राष्ट्रय पुरस्कार पाएको हो ।

समारोहमा राष्ट्रपति पौडेलले नेपालका विभूति अरनिकोको नाममा स्थापित यो पुरस्कारले नेपाली कला–संस्कृति र सभ्यताको गौरव बढाएको बताएको गैरआवासीय नेपाली संघको सचिवालयले जनाएको छ । लेखक आचार्यले आफूले ७ वर्ष लगाएर लेखेको उपन्यास ‘रुइबा’ले अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पाएकोमा कृतिको सही मूल्यांकन भएको बताए ।

उक्त समारोहमा भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिका संयोजक हिक्मत थापाले एनआरएनले देशमा लगानी र आर्थिक अवसरमात्रै भित्र्याउने नभएर बाहिरी विश्वमा फैलिएको नेपाली भाषा–साहित्यमा उत्प्रेरकको कामसमेत गर्ने धारणा राखेका थिए ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालकै पहिलो गैरआवासीय नेपाली अरनिकोको नाममा राखिएको यो पुरस्कारले नेपाल–नेपालीको पहिचानलाई थप बढाएको बताए ।

यस्तै, कार्यक्रममा एनआरएनए अर्का अध्यक्ष कुल आचार्यले सम्मानित व्यक्तित्वलाई बधाई दिदै सम्माननीय राष्ट्रपतिप्रति आभार प्रकट गरे । कार्यक्रममा सचिब गोबिन्द गौतम, अमेरीका क्षेत्रका संयोजक राम।सि पोखरेल, एनसीसी रसिया अध्यक्ष शिवमणी भुर्तेल, निर्मला अधिकारी (चीन), देवेन्द्र भट्टराई (कान्तिपुर दैनिक) , रमेश पौडेल (रेडियो नेपाल), रमेश दाहाल, भगवती बस्नेत (इजरायल) दीपक कर्ण (नाइजेरिया), नरेश कोइराला (क्यानडा), जीवन बम (अमेरिका), प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot