काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा चितवन पुगेका छन् । । बैशाख १० गते हुने उपनिर्वाचनको लागि चितवन–२ का उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउनको लागि उनी चितवन पुगेका हुन् । चितवन ओर्लिबित्तिकै थापाले कालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन पनि गरिसकेका छन् ।
चितवनमा सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा श्रेष्ठ चुनावी मैदानमा छन् भने रास्वपाका सभापति रवि लामिछाने सो क्षेत्रका बलिया उम्मेदवारको रुपमा खडा छन् । कांग्रेसले उपनिर्वाचनमा यसपटक महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्मालाई फिल्डमा खटाएको छ ।
सभापति शेरबहादुर देउवाले यसअघि नै थापालाई तनहुँ–१ मा पठाएका थिए । यसअघि भूमिकाविहीन भएको गुनासो गर्दै आएका महामन्त्रीद्धय थापा र शर्मालाई भने पार्टीका उम्मेदवार जिताएर ल्याउने जिम्मा देउवाले दिएका छन् । थापा आँफैले यसपटक चितवनमा कांग्रेस एक ढिक्का भएकोले मंसिरको भन्दा अवस्था राम्रो रहेको दाबी गरेका छन् ।
उम्मेदवार श्रेष्ठ पनि जिल्लाकै प्रभावशाली नेता भएकोले यसपटक चुनाव जित्न सहज भएको कांग्रेस नेता तथा कार्यकर्ताहरुको दाबी छ । थापाले आज दिउँसो ४ बजे धर्मचोकमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
तस्बिर : नारायण अधिकारी