Logo

११ करोड नोक्सानी हुनेगरी आइरन चक्की खरिद गर्ने सम्झौता



काठमाडौं, वैशाख ५ ।  स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ। स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो।

विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद सम्झौता गरेको बताए। ‘मिति त यकिन भएन तर चैतको पहिलो साता नै आइनरन चक्कीको खरिदका लागि सम्झौता गरिएको छ। असार मसान्तभित्र आइरन चक्की विभागमा वा विभागले तोकेको कार्यालयमा दाखिला गराइसक्नुपर्नेछ,’उनले भने। उनका अनुसार आइरचन चक्की ८५ पैसामा खरिद गर्ने सम्झौता भएको हो।

अर्थ मन्त्रालयले फागुनको अन्तिम साता आइरन चक्की खरिदका लागि २० करोड रूपैयाँ निकासी गरेलगत्तै विभागले सो कम्पनीसँग खरिद सम्झौता गरेको हो। सरकारले आइरन चक्की खरिदका लागि २० करोड रूपैयाँ बजेट छुट्याइएपछि गत असोज १४ गते विभागले टेन्डर आह्वान गरेको थियो। सो टेन्डर आह्वान गर्दा नै दुई तीनवटा कम्पनीलाई मात्रै हुने गरी मापदण्ड बनाइएको थियो। सोही मापदण्डअनुसार आइरन चक्कीको खरिद मूल्य ८५ पैसा हुन गएको विभाग स्रोतले जनाएको छ।

राज्यलाई ठुलो आर्थिक भार पर्ने गरी सम्झौता गर्न लागेको समाचार सम्प्रेषण भएपछि तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीले चासो दिई तत्काल सम्झौता नगर्न र बजार मूल्य समायोजन गरेर मात्रै सम्झौता गरी खरिद गर्न निर्देशन दिएका थिए। तर उनी स्वास्थ्यमन्त्रीबाट हटेपछि चैतको पहिलो साता खरिद सम्झौता गरिएको हो।

विभागका अनुसार मंसिर ४ अघिको सरकारमा रहेका मन्त्रीदेखि केही कर्मचारीको निर्देशनमा विभागको परिवार कल्याण महाशाखाले सो मापदण्ड बनाएको थियो। अर्थ मन्त्रालयले २० करोड बजेट पठाउनेबित्तिकै स्वास्थ्य मन्त्रालयले असोज १३ गते प्रदेश र स्थानीय तहलाई आइरन चक्की खरिद नगर्नू भन्दै पत्राचार गरेको थियो। प्रदेशको अधिकार कटौती गरेपछि त्यही प्रकारको पत्राचार संघीय मामिला मन्त्रालयले पनि पत्र पठाएपछि कात्तिक १४ भित्र परेका टेन्डरलाई विभागले खोलेको र त्यसमा सबैभन्दा कम मूल्य पेस गर्ने नोबाजिनेटिक नामक कम्पनीको आधिकारिक बिक्रेतालाई सप्लाई अनुमति दिने निर्णय गरेको थियो।

स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले बजारमा ४० देखि ५० पैसामा पाइने आइरन चक्की नोबाजेनिटिका भन्ने कम्पनीसँग मिलेमतोमा उसकै आधिकारिक बिक्रेतासँग ८५ पैसामा मूल्य खरिद सम्झौता गरेको हो। यसबारे नागरिक दैनिकमा गत माघ ८ गते नै पहिलोपटक समाचार प्रकाशित भएको थियो। राज्यलाई ठुलो आर्थिक भार पर्ने गरी सम्झौता गर्न लागेको समाचार सम्प्रेषण भएपछि तत्कालीन स्वास्थ्यमन्त्री पदम गिरीले चासो दिई तत्काल सम्झौता नगर्न र बजार मूल्य समायोजन गरेर मात्रै सम्झौता गरी खरिद गर्न निर्देशन दिएका थिए। तर उनी स्वास्थ्यमन्त्रीबाट हटेपछि चैतको पहिलो साता खरिद सम्झौता गरिएको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्