काठमाडौँ, ५ वैशाख । काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । कार्यालय, यातायात व्यवसायी तथा सरोकारवालाको छलफलमा बिहीबारदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको हो ।
विसं २०७८ पुसमा काभ्रेको तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । त्यसयता व्यवसायीले आनाकानी गर्दै आएका थिए । मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।
गृह मन्त्रालयले जिल्लाका तौलपुल सञ्चालनमा ल्याउन परिपत्र गरेपछि कार्यालयले सोमबार सरोकारवाला निकायका प्रतिनिधिलाई छलफलका लागि डाकेको थियो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले आउने बिहीबारदेखि मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिइएको बताए । “अब जसरी भए पनि तौलपुल सञ्चालन गर्ने हो, मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न लगाइनेछ”, उनले भने ।