Logo

तीनवटै क्षेत्रमा रविको पार्टीले जित्छः डा. केसी



काठमाडौं, ५ वैशाख । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वैशाख १० मा उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा रवि लामिछानेको पार्टीले जित्ने ठोकुवा गरेका छन् ।
‘अहिलेसम्म जति पनि व्यक्तिसँग मेरो सम्पर्क भयो, ती सबैले रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै भोट दिने भनेका छन् । तनहुँ जाँदा १५, २० जनासँग कुरा गर्दा स्वतन्त्र पार्टीबाहेकको कुरै गरेनन् । म स्वतन्त्र पार्टीको सदस्य होइन, स्वतन्त्र समीक्षक हुँ । रास्वपा वा स्वर्णिम वाग्ले संसदमा गए मलाई आपत्ति केही छैन । चितवनमा रवि लामिछानेबाहेक कसैको नामै सुनिनँ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै डा. केसीले भने ।
जनताले परिवारवाद, छोरीवाद, स्वास्नीवादको क्रोध घन्टीमा भोट दिने पोख्न खोजेको पनि उनले टिप्पणी गरे । डा. केसीले भने, ‘व्यक्तिगत रुपमा म कसैको पक्षमा छैन । तर चितवनमा रवि लामिछानेको अझै भोट बढ्ने देखें । रवि पनि अनेक काण्डमा मुछिए । तर जनताले नयाँ अनुहार, नयाँ पार्टीभन्दा पनि पुराना पार्टीलाई दण्डित गर्न खोजेका छन् ।’
योग्यताक्रम, जवाफदेहिता, पारदर्शिता, पुरस्कार र दण्डको व्यवस्था नभए लोकतन्त्र नचल्ने पनि डा. केसीले बताए । उनले थपे, ‘रवि लामिछानेले १२ भाइ भने । मलाई एक भाइको कमी छ जस्तो लाग्यो । त्यो भनेको रवि लामिछाने नै हो । उनले अब हामी विजयी बनेर आयौं भने सुरेन्द्र केसीको घरमै जान्छौं, ढोग्छौं र उनको क्षमता अनुसार प्रयोग गर्छौं भने । रविले कमसेकम त्यति त भने । तर यी थाङ्नाहरुले त त्यति पनि भनेनन् । त्यसैले जनता क्रुद्ध भएका हुन् । ‘



प्रतिक्रिया दिनुहोस्