Logo

दाङमा यस वर्ष मह उत्पादनमा कमी



काठमाडौँ, ५ वैशाख । दाङमा यो वर्ष मह उत्पादन घटेको छ । मौसमको प्रतिकूल असर, वायु प्रदूषण, वनस्पतिमा फूल नफुलेका कारण यो पटक मह उत्पादनमा कमी आएको हो । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो ।

पछिल्ला वर्षमा वायु प्रदूषण र जथाभावी बोटबिरुवा मासिँदै जाँदा त्यसको असर मह उत्पादनमा समेत देखिएको घोराही उपमहानगरपालिका–१६ सर्रामा २०६१ सालदेखि नियमित रुपमा मौरीपालन गर्दै आएका दाङ हनी प्रोडक्सनका रामहरि शर्माले बताए।

“पछिल्ला वर्षहरुमा प्लटिङ बढेको, फूल फुल्ने रूख कटान हुने गरेको तथा प्राकृतिक समस्याले उत्पादनमा चुनौती थपिएको छ”, उनले भने, “पर्याप्त स्रोत पु¥याउन मौरीमय बिरुवा रोपणमा ध्यान दिनुपर्ने बेला भएको छ । मौरीपालनका लागि सबैभन्दा महत्वपूर्ण कुरा उनीहरुको स्रोतको विकास हुनुपर्छ ।” दाङको घोराही क्षेत्रमा चिउरीको पुष्परस र तुलसीपुर क्षेत्रबाट तोरीको पुष्परसबाट मह उत्पादन धेरै हुने गरेको उनको भनाइ छ ।

नेपाल मौरीपालक महासङ्घ दाङका अनुसार मह उत्पादन घटे पनि मौरीको घार र कृषकको सङ्ख्यामा कमी नआएको महासङ्घले जनाएको छ । पछिल्लो समय भारतीय बजारबाट आएको कम गुणस्तरको महका कारण यहाँका मौरीपालक किसान मारमा परेको २० वर्षदेखि मौरीपालन गर्दै आएका तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरका चेतमान भण्डारीको भनाइ छ ।

मौरीपालनमा लाग्ने खर्चको अनुपातमा लगानी उठाउन निकै सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको उनले बताए । मौरीपालक किसानका समस्याका बारेमा राज्य गम्भीर हुन नसकेको किसानको दुखेसो छ । अझै पनि राज्य र आम नागरिक वर्गमा मौरीपालक किसानले महकै लागि मात्रै पालेका हुन् भन्ने बुझाइले समस्या थपिएको उनीहरुको अनुभव छ । मौरीले महको स्रोतबाट २० प्रतिशत महका लागि र ८० प्रकृति संरक्षणका लागि योगदान हुने गरेको दाबी गर्छन् घोराही–१७ गुलरियामा १७ वर्षदेखि मौरीपालन गर्दै आएका मदन न्यौपाने ।

दाङमा उत्पादित शुद्ध मह कृषकका घरमा थन्किएको छ । बजारमा अनधिकृत महलाई विभिन्न नाममा बजारीकरण हुने गरेपछि स्थानीय मह बजार पाउन समस्या भएको छ । यसै पनि गुणस्तर नचिनेर मह खाने परिपाटीले शुद्ध मह बिक्रीमा समस्या छ । नेपाल मौरीपालक महासङ्घ दाङका अध्यक्ष विष्णुराज श्रेष्ठले पहाडी क्षेत्रमा उत्पादन हुने मह आफैँमा अग्र्यानिक हुने तथा कुनै पनि शुद्ध मह जम्ने हुँदा शुद्ध पहिचान गरेर खरिद गर्न आग्रह गरे ।

यो पटक असोजको पानीले चिउरी फुलेन । चैतको पानीले सिसौको फूल बिगा¥यो । हिउँदमा पानी परेन । गोभी तोरी भएन । ६ महिना जिल्लाबाहिर चरनका लागि लैजानुपर्ने बाध्यता भोग्दै आएका किसानमध्ये एक सय ५० माहुरीपालक महासङ्घ दाङमा आबद्ध छन् भने १५ हजार बढी घार मौरी छन् । गत वर्षकै १० टन बिक्री गर्न नसकेका किसानको यो वर्ष पनि सय टन बढी मह मौज्दात छ । दाङमा आधुनिक एपिस मेलिफेरा, स्थानीय एपिस सेरेना, खागोलगायत जातका मौरीपालन हुने गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot