जानकी, ५ वैशाख । बाँके डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षको हालसम्म सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरेको छ ।
आर्थिक वर्ष २०७९र८० को माघकसम्म घाइते, टुहुरा, बाटो बिराएर गाउँबस्ती पुगेका र सङ्कटमा परेका ३० वन्यजन्तुलाई उद्धार गरिएको कार्यालयका योजनाअधिकृत गणेश खड्काले बताए । उद्धार गरिएका वन्यजन्तुलाई सुरक्षित स्थानमा छोडिएकोे उनको भनाइ थियोे ।
योजना अधिकृत गणेश खड्काकानुसार उद्धार गरिएकामा सबैभन्दा बढी सर्प प्रजातिका २०सर्पलाई उद्धार गरिएको छ । तीमध्ये दस गोमन सर्प, दुई रसेल भाइपर, एक करेत र एक धामन सर्प छन् ।
यस्तै छ वटा अजिङ्गरलाई पनि उद्धार गरिएको थियो । ती अजिङ्गरमध्ये तीन वटा कम्दी वन क्षेत्र, दुई वटा डुडुवाकै हजरत सामुदायिक वन र एउटालाई बाँके राष्ट्रिय निकुञ्जमा छोडिएको थियो ।
वन कार्यालयका अनुसार बाँकेको बैजानाथ गाउँपालिकाको टिटिहिरिया, नेपालगञ्ज–१९ को बनियागाउँ, खजुरा र डुडुवा गाउँपालिकाको कम्दीबाट चार गोहीलाई उद्धार गरिएकामा तीन वटालाई बाँकेको राप्ती नदीमा र एउटालाई बबई नदीमा छोडिएको थियो ।
उद्धार गरिएको एउटा चितुवाको बच्चाको मृत्यु भएको थियो भने घाइते रातो अमासी बाँदरलाई ढकेरी वन क्षेत्रमा छाडिएको थियो । अन्य वन्यजन्तुलाई बाँके र बर्दियाका सुरक्षित क्षेत्रमा छाडिएको योजना अधिकृत खड्काले बताए । उक्त कार्यालयले अघिल्लो आर्थिक वर्षमा पनि ३० सङ्कटमा परेका वन्यजन्तुलाई उद्धार गरेको थियो । रासस