Logo

द्रुतमार्ग निर्माण अवधि २०८३ चैत मसान्तसम्म थप्न सेनाको आग्रह



काठमाडौं, वैशाख ६ । राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको काठमाडौं-तराई द्रुतमार्ग निर्माण अवधी २०८३ चैत मसान्तसम्म बढाइने भएको छ ।

नेपाली सेनाको व्यवस्थापनमा निर्माण शुरू गरिएको उक्त आयोजना हेरिरहेको काठमाडौं÷तराई, मधेश द्रुतमार्ग सडक आयोजनाले तोकिएको समयमा उक्त आयोजना सम्पन्न नहुने भएपछि म्याद थपका लागि सरकारलाई आग्रह गरेको र सरकारले आयोजनाले मागेको समयावधि थप हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

कोरोना संक्रमणका कारण निर्माण कार्यमा अवरोध आउनुका साथै आयोजनाभित्र पर्ने जग्गा विवाद हालसम्म कायम रहेको र आयोजनाको ४ वटा प्याकेजको ठेक्का लाग्न नै बाँकी रहेको भन्दै उक्त सडक आयोजनाले म्याद थपका लागि सरकारसँग आग्रह गरेको थियो ।

सरकारले उक्त आयोजनाको म्याद थप गरेर अबको तोकिएको अवधिमा नै आयोजना सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिइएको उक्त द्रुतमार्ग २०८१ मंसिरसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

आयोजनाको काम तीव्र गतिमा भइरहेको भए पनि निर्माण शुरु भएको स्थानको भौतिक प्रगति २२ प्रतिशत मात्रै भएको छ । आयोजानमा विभिन्न ठाउँमा सुरुङ बनाउनुपर्ने र अग्ला अग्ला पुलहरू निर्माण गर्नुपर्ने भएकाले पनि आयोजना तोकिएको मितिमा सम्पन्न गर्न कठिनाइ भएको नेपाली सेनाको तराई मधेस द्रुतमार्ग सडक आयोजनाले जनाएको छ ।

७२ दशमलव ५ किलोमिटर लामो उक्त द्रुतमार्ग निर्माणका लागि १ खर्ब ७ अर्ब लाग्ने अनुमान गरिएको छ । आयोजना निर्माणका लागि ठेक्का लाग्न बाँकी रहेका ४ वटा प्याकेजको ठेक्का यही आर्थिक वर्षको अन्त्यसम्म लागि सक्ने गरी काम बढेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

नेपालको मुहार फेर्ने अपेक्षा गरिएको उक्त मार्गको काम सम्पन्न गर्न सरकारले २०७४ साउन २७ गते नेपाली सेनालाई सुम्पेको थियो ।

आयोजना निर्माणका क्रममा देखिएका समस्यालाई समाधान गर्न आयोजनाले अधिकतम प्रयास गरेको र अन्य क्षेत्रको विवाद मिले पनि काठमाडौंको प्रवेश विन्दुको रूपमा रहेको खोकनामा जग्गा विवाद अझै मिल्न नसकेकाले पनि कामलाई बाधा परेको जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot