Logo

रवि भगवान् नै हुन् भन्ने भ्रम थियो, स्वर्णिमको पोजिसन तेस्रो होः कांग्रेस नेता



काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाश स्नेही रसाइलीले तनहुँ १ मा ७० वर्षे इतिहास भएको पार्टीलाई ७ महिने पार्टीले चुनौती दिन नसक्ने बताएका छन् ।
‘तनहुँ १ मा कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति लगाएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीका साथीहरु पनि कांग्रेसलाई जिताउन लागेका छन् । यो कांग्रेसको प्रतिष्ठाको कुरा मात्र होइन, गठबन्धनलाई अनुमोदन गर्ने कुरा पनि हो । त्यसैले गठबन्धन दलहरुले कांग्रेसको जितलाई सर्वोपरि मानेका छन् । ७० वर्षको इतिहास भएको पार्टीलाई ७ महिने पार्टीले चुनौती दिन सक्दैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै रसाइलीले भने ।
नेता रसाइलीले तनहुँ १ मा २०४८ यता एकपटकबाहेक सबै चुनाव कांग्रेसले जितेकाले यसपटक पनि सुनिश्चित रहेको बताए । उनले भने, ‘केही उम्मेदवारका निम्ति सामाजिक सञ्जाल र केही मिडियाहरुले केही अफवाह फैलाएका छन् । भोट त सामाजिक सञ्जालले हाल्ने होइन नि । विदेशमा बस्नेले र स्टन्ट गर्नेले हाल्ने त होइन नि । स्वर्णिम वाग्लेसँग हाम्रो प्रतिस्पर्धा नै छैन । हाम्रो सामान्यतय प्रतिस्पर्धा हुने एमालेसँगै हो । तर हाम्रो मतान्तर धेरै छ । स्वर्णिमको पोजिसन तेस्रो हो ।’
चितवन २ मा रवि लामिछानेले जिते तीन महिनापछि फेरि चुनाव हुन सक्ने भएको रसाइलीले बताए । उनले भने, ‘चितवन प्रयोगभूमि होइन । रविको राहदानी र नागरिकताबारे विषयमा अदालत र अख्तियारमा अझै पनि मुद्दा छन् । उहाँको पक्षमा केही मिडिया र सामाजिक सञ्जालमा अनावश्यक प्रचारबाजी भएको छ । उहाँको नागरिकता, राहदानी, मन्त्री र सांसद पद अदालतले नभईकन अवैध घोषणा गरिदिएको होइन ? त्यस्तो विवादित व्यक्तिलाई जिताउनु भन्दा रविभन्दा युवा जितनारायण श्रेष्ठलाई जिताउनेछन् । पहिले रविले भगवान् नै हुन् भन्ने भ्रम थियो । देवत्वकरण गरेर र स्टन्ट गरेर जितिँदैन । त्यहाँ पनि प्रतिस्पर्धा एमालेसँगै हुन्छ ।’ बारा २ मा पनि गठबन्धनका उम्मेदवार उपेन्द्र यादवले जित्ने उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot