Logo

स्वर्णिम वाग्लेलाई धमलाको प्रश्न– शेखर कोइराला र गगन थापाको साथ छ कि छैन ?



काठमाडौं, ६ वैशाख । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले भ्रष्टाचारले गाँजेको राजनीति र जनउत्तरदायी बन्न नसकेको लोकतन्त्रलाई संग्ल्याउनका निम्ति आफू लागिपरेको बताएका छन् ।
‘पार्टीको शीर्ष नेतृत्व एकदमै असहिष्णु भएपछि म नेपाली कांग्रेसमा रहने अवस्था रहेन । राजनीतिलाई ब्रह्मनालमा नजाउन्जेल पूर्णकालीन पेशा मानेर दोहनको साधन र आयआर्जनको स्रोत बनाउने राजनीतिको मोडल चेन्ज गर्नुपर्छ, दुई वा तीन कार्यकालभन्दा बढी राजनीति गर्नुहुन्न भनेर म चुनावमा होमिएको हुँ । भ्रष्टाचारले गाँजेको राजनीति र जनउत्तरदायी बन्न नसकेको लोकतन्त्रलाई संग्ल्याउने र सुशासनको जगमा आर्थिक उन्नति गर्न म लागेको छु,’ प्राइम टाइम्स टेलिभिजनको ‘उपनिर्वाचन बहस’ मा पत्रकार ऋषि धमलासँग उनले भने ।
डा. वाग्लेले तनहुँका विवेकशील र चेतनशील जनताले शानदार मतले जिताउने दाबी पनि गरे । उनले भने, ‘अहिले तनहुँले एक साथ सांसदमात्र जिताउने होइन, राष्ट्रिय राजनीतिमै तरंग ल्याउने हो । स्वर्णिम एक्लैले गर्न सबथोक सक्दैन, समूह र प्रणालीले गर्ने हो । अब हामी जेलनेलको हिसाबकिताब होइन, डेलिभरीको राजनीति गर्ने हो । हाम्रा नेतामा नेल्सन मन्डलाजस्तो सोच आएन । पाँच वर्षमै काम गरेर देखाउने हो । एउटा पार्टीका सभापति ८४ वर्षको उमेरमा छैटौं पटक म प्रधानमन्त्री बन्छु भनेर कुरेर बस्नुभएको छ । त्यसकारण देश नै बन्धक भयो । मलाई आशा छ, तनहुँका विवेकशील र चेतनशील जनताले मलाई शानदार मतले जिताउने छन् ।’

‘मैले रविलाई बीपी भनेको छैन’
नयाँ मोडलको राजनीति गर्छु भन्ने पार्टीले पुरानै पार्टीको सरकारलाई किन समर्थन गरेको भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘यसबारे हाम्रो पार्टी सभापतिले धेरै कुरा भनिसक्नुभएको छ । हामी अस्थिरताको कारक हुन चाहन्नौं । सरकार बन्न नसक्ने स्थितिमा समर्थन गर्नु स्वाभाविक हो ‘। साथै उनले रवि लामिछानेलाई बीपी भनेको पनि स्पष्टीकरण दिए । डा. वाग्लेले भने, ‘२०१५ सालमा राजनीतिक नेतृत्व गरेको ४५, ४६ वर्षको बीपी कोइराला मेरो राजनीतिक मार्गदर्शक हो । मैले रविलाई बीपी भनेको होइन । त्यसलाई गोलमटोल बनाएर प्रस्तुत गरिएको मात्र हो ।’
आफ्नो पार्टीले संघीयता र बहुलवादी लोकतान्त्रिक व्यवस्था पूर्णरुपमा मानेको दाबी पनि उनले गरे । डा. वाग्लेले थपे, ‘संघीयता र शासकीय स्वरुपबारे बहस छ । प्रदेश सरकार अलिकति भद्दा भयो कि भन्ने छ । हाम्रो सिद्धान्त संवैधानिक समाजवादी हो । त्यसलाई कांग्रेस, कम्युनिस्ट भनेर ७० वर्ष नाचेको पंक्तिले स्वीकार्न नसकेको मात्र हो ।’ साथै उनले तनहुँ १ मा बाटोघाटो, सिंचाइ, खानेपानी, तटबन्ध, कृषि, पर्यटन युवा रोजगारी सिर्जना र आर्थिक सम्भावना खोज्ने काममा आफू लाग्ने पनि उनले बताए ।

‘म टुरिस्ट उम्मेदवार होइन’
तपाईंलाई त ‘टुरिस्ट उम्मेदवार’ भन्छन् नि भन्ने प्रश्नमा डा. वाग्लेले भने, ‘तनहुँकै किसान श्रेष्ठले बारामा चुनाव जित्नुभएको छ । शंकर भण्डारी मादिपारि जानुभएको छ । प्रदीप पौडेल काठमाडौं गएर सांसद बन्नुभएको छ । म मर्स्याङ्दीपारिबाट आएको छु । हामी एउटै हिमालको पानी खाएको मानिस हौं । तनहुँ मेरो बूढो मावली पनि हो । सांसद भनेको त राष्ट्रको हो नि । बीपी कोइरालाले ६० वर्षअघि नै पहाडका मान्छे मधेसमा, मधेसका मान्छेलाई पहाडमा लडाउने भनेर राष्ट्रिय भावनाको मलजल गर्नुभएको थियो ।’
शेखर कोइराला र गगन थापाले तपाईंलाई साथ दिनुहुन्छ भन्ने धमलाको अर्को प्रश्नमा उनले भने, ‘उहाँहरुले मलाई साथ दिनुहुन्न । उहाँहरु अर्कै पार्टीका जिम्मेवार नेताहरु हुनुहुन्छ । उहाँहरुको आफ्नै उम्मेदवार हुनुहुन्छ । यसपटक मलाई सहयोग गर्ने स्थिति छैन ।’
उनले कांग्रेस उम्मेदवार गोविन्द भट्टराई र एमाले उम्मेदवार सर्वेन्द्र खनालका बारेमा भने कुनै टिपणी गरेनन् । डा. वाग्लेले भने, ‘म पात्रहरुमा जान चाहन्नँ । गोविन्द भट्टराई पहिले एकचोटि भेट भएको थियो । अस्ति फेरि जम्काभेट भयो । हामीले हात मिलायौं । मैले उहाँलाई शुभकामना दिएँ । सर्वेन्द्रजीसँग पनि हिजै भेट भयो । हामी राम्रो राजनीतिक संस्कारको थालनी गर्छौं ।’
कसैकाप्रति गालीगलौज नगर्ने पनि उनले बताए । रवि लामिछानेसँग तपाईंको समझदारी रहिरहला भन्ने अर्को प्रश्नमा डा. वाग्लले भने, ‘रविजीसँग मेरो राम्रो समझदारी छ । २०८४ को चुनावमा प्रमुख पार्टी बन्ने उद्देश्यका साथ हामी लाग्छौं ।’



प्रतिक्रिया दिनुहोस्