Logo

लागत नउठ्दै भत्काइयो टहरा



काठमाडौँ, ६ वैशाख । इलामको माङ्सेबुङका प्रेमकुमार माबोहाङले एक लाख ५० हजार ऋण लिएर सात महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा टिनको छानो हालेर टहरा बनाए। बीमा कम्पनी र अन्यत्रबाट ऋण सापटी लिएर त्यसैमा आफूसित भएको केही रकम थप गरी टहरा बनाउनुको एउटै उद्देश्य थियो व्यवसाय गरेर जीविका चलाउने । तर, टहरा बनाउँदाको लागत नउठ्दै नगरपालिकाले जेसिभी मेसिन लगाएर टहरा भत्काईदिएपछि उनलाई अब के गर्ने भन्ने चिन्ता छ ।

“यहीँबाट केही गरौँला भन्ने थियो, लागत नउठ्दै घर टहरा भत्कियो, अब कहाँ जाने, के गर्ने भन्ने चिन्ता छ”,उनले भने । झण्डै तीन लाखमा बनेको टहरामा जहान परिवारसहित आएर उहाँले चियाखाजा र पेय पदार्थको व्यापार गर्दै आएको थियो ।

यता तोक्मेडाँडामै आठ महिनाअघि रु २५ लाख भन्दा बढीको लागतमा बनेको सुरेन्द्र लिम्बूको घर पनि भत्किएको छ । जडीबुटीको व्यापार व्यवसाय गर्दै आएका लिम्बूले घर बनाउँदै गर्दा यति छिट्टै सडक विस्तार होला र घर भत्किएला भन्ने सोचेका थिएनन् ।

“मन मिचेर दोधारमै घर बनाइयो, साथीभाइले लगानी नगर भन्दै थिए, बनाइहाले, अब अहिले विकासको कुरासँग जोडिएको सडकको आवश्यकताले भत्कियो, के गर्ने घाटा त भयो नै तैपनि अन्यत्र सरेर केही गर्नुपर्ला”, लिम्बूले भने । लगानी नउठ्दै व्यवसायका लागि बनाएको घर भत्किँदा स्कुले छोराछोरीसहित बसेका लिम्बू दम्पत्तिको मन पनि भत्किएको छ । यस्तै केही वर्षअघि भूइँ भाडामै लिएर टहरा बनाइ चिया खाजा बेच्दै आएका फुङलिङका मोहन भट्टराईको समेत टहरा भत्कियो ।

यसरी व्यवसायकै लागि घर टहरा बनाएर बसेका उनको मात्रै नभइ दर्जनौँ घरपरिवार समस्यामा परेका छन् । सडकको क्षेत्राधिकारभित्र परेका घर, टहरा तथा अस्थायी संरचना मङ्गलबार फुङ्लिङ नगरपालिकाले डोजर लगाएर भत्काएपछि कतिपय विस्थापित बनेका छन् भने कतिपय सामान्य भत्किएका घरमा बसेका छन् । घर टहरा बनाउँदा नदेखेझैँ गरेको नगरपालिकाले अहिले ठूला घर छाडेर जीविका चलाउन बनाएका साना टहरा नै पहिले भत्काएर दुःख दिएको गुनासो गरेका छन् ।

नगरपालिकाले डोजर नै चलाएर भत्काउन थालेपछि भने स्थानीयवासीले आफूले बनाएका संरचना आफैँले भत्काउन थालेका छन् । कतिपयले सडकको भाग खाली गरेर पछाडि बाँकी रहेको संरचना मर्मत सम्भार गरिरहेका छन् । सडकको क्षेत्राधिकारभित्र जानाजान ठूलो लगानी गरेर घर टहरा बनाउँदा क्षति भोग्नुपर्ने अवस्था आएको सरोकारवालाले बताएका छन् । कतिपयले नगरले गरेको सूचना बेवास्था गर्दा क्षति पुगेको बताए ।

सडकको नक्शाङ्कन गरी सडकको क्षेत्र भित्र पर्ने घरटहरा खाली गर्न तथा हटाउन पटक–पटक गरेको सूचना बेवास्ता गरेपछि नगरपालिकाले जेसिभी मेसिन लगाएर आंसिक रुपमा भत्काएर खाली गर्ने प्रक्रिया सुरु गरेको हो । साँघुरो सडकका कारण दुर्घटनाको जोखिम बढ्दै गएकाले सडक फराकिलो बनाउने र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाले सडक क्षेत्राधिकारभित्रका संरचना हटाएर सडकको स्तरोन्नति गर्ने प्रक्रिया थालेको नगर प्रमुख अमिर मादेनले बताए ।

मेची राजमार्ग अन्तर्गत पर्ने भन्दै सडक डिभिजन कार्यालय इलामले अस्थायी संरचना हटाउन गएको पुसमा ३५ दिने सूचना निकालेको थियो । सो अवधिमा कसैले नहटाएपछि नगरपालिकाले पुनः १५ दिने सूचना जारी गरेको थियो । यसरी पटक–पटक गरेर तीन पटक सूचना गर्दासमेत नहटेपछि नगरपालिकाले डोजर प्रयोग गरेर मङ्गलबार भत्काएको हो । कसैले नभत्काएपछि मङ्गलबार आंशिक रुपमा भत्काइएको र अब पनि नक्शाङ्कन भएको भाग खाली नगरे पूरै संरचना भत्काउने नगर प्रमुख मादेनको भनाइ छ ।

हाल कायम रहेको सडकमध्ये दायाँवायाँ साढे सात मिटरका दरले गरी १५ मिटर खाली गर्नुपर्ने उनले बताए । सडक आउनु अघि नै बनेका बजार क्षेत्रका चार वटा घरको हकमा भने सडक डिभिजनले आवश्यक क्षतिपूर्तिको प्रक्रिया सुरु गरेको बताइएको छ ।

सरकारले झापाको केचनकवलदेखि ताप्लेजुङको ओलाङ्चुङगोला सम्मलाई मेचीराजमार्ग नामकरण गरेको छ । तर बजार क्षेत्रभित्रको सडक राजमार्गमा नपर्ने भन्दै स्थानीयवासीले विरोध गरेका थिए । स्थानीय खगेन्द्र लिम्बू सहितले सर्वोच्चमा मुद्दा दायर पनि गरेका थिए । बनेका संरचना नहटाउन भन्दै अन्तरिम आदेशको माग गरेका थिए । तर सर्वोच्चले अन्तरिम आदेश नदिएपछि नगर कार्यपालिकाले बीच भागबाट दायाँवायाँ साढे सात मिटरका दरले १५ मिटर खाली गरेर सडक विस्तार गर्ने निर्णय गरेको थियो । सडक विस्तारसँगै बिजुलीका तार, पोल, खानेपानीका पाइपसमेत व्यवस्थित गर्ने नगरपालिकाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot