Logo

रवि लामिछानेलाई ऋषि धमलाको प्रश्न : तपाईंले चुनाव जित्ने आधार के ? (भिडिओसहित)



काठमाडौं, ६ बैशाख । बैशाख १० गते हुने चितवन-२ को उपनिर्वाचनका रास्वपाका उम्मेदवार एवम् पार्टी सभापति रवि लामिछानेले आफ्नो उम्मेदवारीको आधार भनेको यसअघि नै आफू निर्वाचित भएको सुनाए । उनले प्राविधिक कारणले उक्त क्षेत्रमा पूनः निर्वाचन हुन गएको र त्यसमा आफ्ना प्रक्रियागत त्रुटि थिए होलान् भन्ने अभिव्यक्ति दिए ।

प्राइम टिभीको उपनिर्वाचनविशेष बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । पत्रकार धमलाले सुरुमै तपाईंको जित सुनिश्चित् भैसक्यो ? भनेर सोधेको प्रश्नमा लामिछानेले भने-“चितवनवासीले अस्ति भर्खरै मलाई मतदान गरिसक्नुभएकोले ती आधारहरु यथावत नै रहे । केही केही प्राविधिक कारणले निर्वाचन हुन गएकोमात्रै हो, मेरा प्रक्रियाहरुमा केही त्रुटि थिए होलान्, केही खोट थिए होलान् । तर, मतदान गर्ने सार्वभौम जनताका भोटमा कुनै खोट थिएनन् । त्यसकारणले गर्दा आधार त तिनै हुन । यसपटक राम्रो देखिएको छ । तपाईंले पनि बुझ्नुभयो होला, हेर्नुभयो होला । मलाई विश्वास छ, हामी एकदमै राम्रो नतिजा ल्याएर जित्नेछौं ।”

उनले रवि लामिछानेले चितवनको लागि केही पनि गर्न सकेन भन्ने दलहरुलाई पनि कडा जवाफ दिएका छन् । उनले पूराना दलहरुले ३० वर्षमा गर्न नसकेको काम आफूहरुलाई ३० दिनभित्र गर भन्यो भने त अलिक गाह्रो होला भन्दै हाँसेर जवाफ दिए । उनले आफूहरुले आम नेपाली जनता र चितवनका मतदाताले के भन्छन् भन्ने कुरा चाहीँ आफ्नो चासोको विषय भएको बताए ।

उनले आफूले सो क्षेत्रको विकासको लागि कामहरु थालेको पनि सुनाए । खानेपानी, विजुली, सडक सञ्जाल निर्माणको लागि निरन्तर फलोअप गरेको उनको भनाई छ । सांसदहरुको काम र भूमिका कस्तो हुन्छ भन्ने कुरा आफ्ना पार्टीका सांसदहरुको संसद्को भूमिका हेर्न पनि उनको आग्रह छ ।

उनले आफूमाथि परिचयपत्रको ठेक्काबारे लागेको आरोप प्रमाणित भए आम नागरिकजस्तै सजाय भोग्न तयार रहेको पनि स्पष्ट पारे । कुराकानीको अन्त्यमा धमलाले चुनाव जित्ने आधार सोधेका थिए । जवाफमा लामिछानेले आफूले भर्खरै चुनाव जितेर आएको स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot