काठमाडौं, वैशाख ७ । बढी भार बोकेका सवारी साधनले राजमार्गमा गर्ने क्षति रोक्न काभ्रेपलाञ्चोकमा बिहीबारदेखि सवारी साधनको तौल जोखिने भएको छ । तर राज्यका संयन्त्रले नियमित अनुगमन तथा कारबाही नगर्दा डाला थपेर बढी भार बोक्ने टिप्परको बिगबिगी रोकिएको छैन ।
डाला थपेर निर्धक्क निर्माण सामग्री बोक्दा पनि प्रहरी प्रशासन, यातायात व्यवस्था कार्यालयले त्यस्तो कार्य नदोहोरिने सुनिश्चित गर्न सकेको छैन । नियामक निकायले सामान्य मात्रै कारबाही गर्दा टिप्पर सञ्चालक हौसिएको सर्वसाधारणको गुनासो छ ।
काठमाडौँ उपत्यकामा मात्रै दुई सयको हाराहारीमा टिप्परले डाला थपेर स्वरूप परिर्वतन गर्दै निर्माण सामग्री बोक्ने गरेको अनुमान गरिएको छ । तीमध्ये आधाभन्दा धेरै भक्तपुरमा छन् । त्यसरी डाला थपेर स्वरूप परिवर्तन गर्नु गैरकानुनी कार्य हो ।
भक्तपुरमा ठूला टिप्परमा मात्रै नभएर साना आकारका सवारीसाधनले डाला थपेर बालुवा र इँटा बोकिरहेको विकास मानन्धरले गुनासो गरे । उनले प्रहरीसँग डाला थप्ने व्यवसायीको के कुरा मिल्छ र नियमित रूपमा अनुगमन हुँदैन भन्ने कुरा थाहा पाउन नसकेको बताए ।
उनले दैनिक त्यसरी गुड्ने सवारी साधनलाई प्रहरीले चेकजाँच समेत नगरेको गुनासो गरे । काठमाडौँ उपत्यकामा मुख्य रूपमा धादिङ, काभ्रेपलाञ्चोक र नुवाकोटबाट निर्माण सामग्री भित्रिन्छ । अधिकांश टिप्पर राति चल्छन् र अँध्यारोको फाइदा उठाउँदै थपिएका डालामा ओभरलोड बोक्छन् ।
ओभर लोडकै कारण उपत्यका भित्रिने मुख्य सडकको अवस्था निक्कै कमजोर बनेको छ। उपत्यका भित्रिएपछि पनि त्यस्ता सवारीसाधनको चेकजाँच हुँदैन। काठमाडौँ उपत्यकाका ठूला आयोजना र विशेष गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई आवश्यक पर्ने माटो देखाउँदै टिप्परमा डाला थपिएका छन्। सङ्गठित रूपमै ठूला आयोजनाका नाममा टिप्परमा डाला थपेर माटो बोक्न थालिएको लामो समय भइसकेको छ।
काठमाडौँ, भक्तपुर र ललितपुरका ग्रामीण भेगबाट समेत डाला थपिएका टिप्परले निर्माण सामग्री बोक्न थाले पनि प्रहरी प्रशासन भने यसबारे बेखबरजस्तै रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।