काठमाडौं, वैशाख ७ । चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७९/८० को बितेका नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांकनुसार मुलुकको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार रहेको छ ।
गत वर्षको सोही अवधिमा नेपालले कुल १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा बेहोरेको थियो । विभागले अपेक्षाकृत रूपमा व्यापार घाटा घटाउन नसकेको स्विकारेको छ ।
चालू आवको बितेका नौ महिनाको अवधिमा देशको कुल वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख ५३ हजार रुपैयाँबराबर भएको विभागले जनाएको छ । अघिल्लो आवमा १६ खर्ब २७ अर्ब २३ लाख ४९ हजार रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको थियो ।
यो अघिल्लो वर्षको तुलनामा १८ दशमलव ८९ प्रतिशतले न्यून हो । यस अवधिमा आयातसँगै निर्यातमा पनि कमी आएको तथ्यांकले देखाएको छ । नौ महिनाको अवधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँको आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा १८ दशमलव ८ प्रतिशतले कमी हो ।
यस अवधिमा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२ हजार रुपैयाँबराबरको निर्यात भएको जनाएको छ । गत वर्ष सोही अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको निर्यात गरेको थियो । निर्यात पनि २६ दशमलव ३४ प्रतिशतले घटेको छ । राजधानी दैनिकबाट