Logo

काठमाडौंको प्रदूषणले स्वास्थ्यमा असर



काठमाडौं, वैशाख ७ । यस साता अन्तर्राष्ट्रिय जगतमा काठमाडौं चर्चामा रह्यो । विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो स्थानमा परेपछि सबैको चासो काठमाडौंमा केन्द्रित भयो । काठमाडौंको वायु गुणस्तर सूचांक (एक्यूआई) लगायत ३ सयमाथि रहेको छ, जसलाई विश्व स्वास्थ्य संगठनले खतरा मान्छ ।

वर्षा नहुनु र यतिबेला करिब ४ सय स्थानमा डढेलो लागेका कारण कचौराको आकारमा रहेको काठमाडौं उपत्यकालगायतका देशका अन्य भागमा समेत वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदूषण बढेका कारण भिजिविलिटीमा निरन्तर असर परिरहेको र हवाई उडानसमेत प्रभावित भएका छन् ।

कृषिजन्य पदार्थ र डढेलोका कारणले मात्र काठमाडौंको वायु प्रदूषण बढेको होइन । दु्रत सहरीकरण, पुराना सवारीसाधन र इन्धनको बढी प्रयोगका कारण पनि काठमाडौंको फोहोर बढेकाले स्वास्थ्यमा असर गरिरहेको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक डाक्टर युवराज शर्माले बताए ।

वर्षा नभएको र डढेलो लागेका कारण काठमाडौं, बारा, पर्सा, चितवनमा समेत वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता शंकरप्रसाद पौडेलको भनाइ छ ।

वायु प्रदूषणका कारण स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै सावधान रहनेसमेत डाक्टर शर्माले आग्रह गरे । प्रदूषणका कारण आकाश तुवाँलोले ढाकेको छ । अझै केही दिन उपत्यकाको वायु प्रदूषण कायमै रहने जल तथा मौसम विज्ञान विभागको अनुमान छ । चिकित्सकहरूले फोक्सो, आँखा र छालामा समस्या हुनसक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot